कृष्णभीरमा सडक खोल्ने उपायमै अलमलियो सरकार

2k Shares

धादिङको कृष्णभिरमा त्रिशूली नदीको कटानका कारण भासिएको पृथ्वी राजमार्ग तत्काल सञ्चालनमा ल्याउने विषयमा सरकार अझै निष्कर्षमा पुग्न सकेको छैन। सडक विभागले प्राविधिक अध्ययन गरिरहेको भए पनि नदीको कटान नरोकिएकाले सडक खुलाउने विधि र समय तय गर्न कठिन भएको जनाएको छ।

कृष्णभिरमा सडकको तल्लो भाग नदीले कटान गरेपछि सडक नै भासिएको हो। जटिल भूगोल र निरन्तर भइरहेको कटानका कारण अहिले मेसिन तथा कामदारलाई घटनास्थलमा पठाएर मर्मत थाल्नसमेत जोखिम रहेको विभागको भनाइ छ।

सडक विभागले पहाड काटेर वा सडकको तलबाट पर्खाल तथा पाइलिङ गरेर बाटो खोल्ने सम्भावनाबारे अध्ययन गरिरहेको छ। तर कृष्णभिरको अवस्था सामान्य पहिरोभन्दा फरक रहेकाले कुन प्रविधिबाट काम गर्ने भन्ने टुंगो लागिसकेको छैन। विभागको अध्ययन टोलीले प्रतिवेदन दिएपछि मात्रै पुनर्निर्माणको विधि र समयबारे निर्णय हुने बताइएको छ।

सडक विभागका एक इन्जिनियरका अनुसार हालको अवस्थामै कृष्णभिरबाट सडक सञ्चालन गर्न सके पनि लामो समय लाग्न सक्छ। तत्काल मुख्य सडक खुलाउन कठिन देखिएपछि त्रिशूली नदीपारि समानान्तर सडक निर्माण गरी वैकल्पिक मार्ग तयार गर्ने कामसमेत अघि बढाइएको छ।

कृष्णभिर बन्द भएपछि काठमाडौं आउने–जाने सवारीसाधनलाई मकवानपुर हुँदै विभिन्न वैकल्पिक मार्ग प्रयोग गराइएको छ। मालवाहक सवारीलाई कान्तिलोकपथ, ठूला यात्रुवाहकलाई त्रिभुवन राजपथ र साना यात्रुवाहकलाई भीमफेदी–देउराली मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।

यसैबीच, पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौंमा अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुन नदिन पेट्रोलियम पदार्थ र एलपी ग्याससमेत वैकल्पिक मार्गबाट ल्याउने व्यवस्था गरिएको छ।

हालको अवस्था: कृष्णभिरको सडक कहिलेसम्म खुल्छ भन्ने यकिन भइसकेको छैन। नदीको कटान रोकिएर प्राविधिक अध्ययन पूरा भएपछि मात्रै सडक पुनः सञ्चालनको स्पष्ट योजना बन्ने देखिएको छ।

 
 
 
सम्बन्धित समाचार