बलिउड अभिनेता तथा समाजसेवी सोनु सुद बाढीपीडित नेपालीका लागि राहत सामग्री लिएर मंगलबार काठमाडौं आइपुगेका छन्। गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न उनी नेपाल आएका हुन्।
बाढीपछि सुदले सामाजिक सञ्जालमार्फत नेपालीप्रति ऐक्यबद्धता जनाउँदै राहत, आश्रय र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले ‘नेपाल, तिमी एक्लो छैनौँ’ भन्दै प्रभावित परिवारलाई सहयोग गर्न आफूहरू आउने बताएका थिए।
नेपालमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि स्वदेश तथा विदेशबाट राहत र सहयोग जुटिरहेको छ। सुदसँगै कलाकार तथा सार्वजनिक व्यक्तित्वहरूले पनि विपद्मा परेका नेपालीलाई सहयोग गर्न आह्वान गर्दै आएका छन्।
सुदको नेपाल आगमनले बाढीपीडितका लागि राहत तथा पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।