रसुवा–नुवाकोट बाढी : कहाँ–कहाँ परिचालित छन् सुरक्षाकर्मी, कहाँ पुग्यो राहत ?

1.2k Shares

काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव व्यवस्थापन, राहत वितरण र उपचारका लागि सुरक्षाकर्मी तथा विभिन्न सरकारी निकाय परिचालित छन्।

रसुवा र नुवाकोटका दुर्गम बस्तीमा राहत सामग्री पुर्‍याउन स्थलमार्गसँगै हेलिकप्टरको समेत प्रयोग भइरहेको छ। प्रशासनका अनुसार प्रभावित क्षेत्रमा राहत सामग्री नपुगेको स्थान नरहेको दाबी गरिएको छ।

रसुवामा कहाँ–कहाँ परिचालित छन् सुरक्षाकर्मी ?

भोटेकोशी बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवाको तल्लो तटीय क्षेत्र, स्याफ्रुबेँसी, धुन्चे, हाकु, पाङग्राङ, ग्रेमा लगायतका क्षेत्रमा सुरक्षाकर्मी खोज तथा उद्धार र राहतमा परिचालित छन्।

नेपाल प्रहरीले घटनास्थलको खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापन, कानुनी प्रक्रिया र प्रभावित परिवारसँग समन्वयका लागि छुट्टाछुट्टै टोली खटाएको छ। नुवाकोट र चितवनतर्फ समेत घटनासम्बन्धी मुचुल्का तयार पार्न प्रहरी टोली परिचालन गरिएको छ।

जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा फसेका व्यक्तिको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै मित्रराष्ट्रका प्राविधिक टोलीसमेत परिचालित छन्। विशेषगरी त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा उद्धार प्रयास केन्द्रित छ।

नुवाकोटमा पनि खोज तथा उद्धार तीव्र

बाढीले त्रिशूली नदी आसपासका नुवाकोटका विभिन्न बस्ती तथा पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि त्यहाँ पनि सुरक्षाकर्मी परिचालित छन्। उद्धारसँगै विस्थापित नागरिकलाई सुरक्षित स्थानमा सार्ने र राहत वितरणको काम भइरहेको छ।

नुवाकोटको पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा आश्रय लिइरहेका प्रभावितलाई समेत राहत सामग्री वितरण गरिएको छ।

२६ अस्थायी आश्रयस्थल

रसुवा र नुवाकोटमा गरी २६ वटा अस्थायी आश्रयस्थल सञ्चालनमा ल्याइएको र ३ हजार ४५४ प्रभावितले आश्रय तथा राहत पाएको विवरण सार्वजनिक भएको छ। दुर्गम क्षेत्रमा सडक सम्पर्क अवरुद्ध भएकाले हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याइएको छ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ र २ अन्तर्गत हाकु, पाङग्राङ र ग्रेमा लगायतका क्षेत्रमा समेत प्रभावितलाई आश्रय दिइएको छ।

उपचारका लागि छुट्टाछुट्टै स्वास्थ्य टोली

बाढी प्रभावितको उपचारका लागि धुन्चेस्थित रसुवा जिल्ला अस्पताल, स्याफ्रुबेँसीमा वीर अस्पतालको टोली तथा हेलिक्षेत्रमा प्रादेशिक अस्पतालको टोली परिचालित छन्।

त्यस्तै, रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी र हेलिक्षेत्रमा नेपाली सेनाको स्वास्थ्य टोलीले उपचार सेवा दिइरहेका छन्।

राहत वितरण र उद्धार अझै जारी

सरकारले प्रभावित नागरिकको खोजी, उद्धार, सुरक्षित स्थानान्तरण, उपचार र राहतलाई प्राथमिकतामा राखेको जनाएको छ। तर बाढीले सडक, पुल र सञ्चार संरचनामा ठूलो क्षति पुर्‍याएका कारण दुर्गम क्षेत्रमा उद्धार तथा राहत पुर्‍याउन अझै चुनौती रहेको छ।

सरकारले सञ्चालनमा ल्याएको रसुवा बाढी उद्धार पोर्टलमार्फत हराएका तथा फेला परेका व्यक्तिको विवरण, उद्धारका लागि अनुरोध र राहतसम्बन्धी जानकारीसमेत संकलन भइरहेको छ।

सम्बन्धित समाचार