गुल्मी । अविरल वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोर राजमार्ग अवरुद्ध भएको छ।
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा मंगलबार बिहान पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
सडक अवरुद्ध भएपछि कालीगण्डकी करिडोरमा यातायात सञ्चालन प्रभावित भएको छ। मुख्य सडक बन्द हुँदा यात्रु तथा स्थानीयलाई आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सडक विभाग, स्थानीय तह र सुरक्षाकर्मीबीच समन्वय भइरहेको छ। डोजर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
पहिरो पन्छाउने काम पूरा भएपछि सडक सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
यसैगरी, मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिका–३ घुम्तीमा पनि सडक माथिबाट पहिरो खसेर केही समय यातायात अवरुद्ध भएको थियो। उक्त सडक भने अहिले सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ।
कालीगण्डकी करिडोरमा पहिरो खसेपछि प्रहरी चौकी पूर्तीघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोलीसमेत घटनास्थलमा परिचालन गरिएको छ।