आशा मारेका छैनौँ, सुरुङमाथिबाट पनि खन्ने प्रयास भइरहेको छ : गृहमन्त्री

925 Shares

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले रसुवामा बाढीपछि सुरुङभित्र बेपत्ता भएका व्यक्तिहरूको उद्धारको आशा अझै नछाडिएको बताएका छन्। सुरुङभित्र प्रवेश गर्न कठिन भएपछि सुरुङको माथिल्लो भागबाट समेत खनेर उद्धार गर्ने विकल्पमा काम भइरहेको उनले बताएका हुन्।

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा ठूलो संख्यामा मानिस फसेको आशंका गरिएको छ। उद्धार टोलीले पानी, हिलो, ढुंगा र थुप्रिएको माटोका कारण सुरुङभित्र पुग्न कठिनाइ भोगिरहेका छन्।

गृहमन्त्री गुरुङले उद्धारका लागि उपलब्ध सबै विकल्प प्रयोग गरिने बताएका छन्। सुरुङको मुख्य प्रवेशमार्गबाट मात्रै सम्भव नभए वैकल्पिक बाटो बनाएर भित्र पुग्ने प्रयास भइरहेको उनको भनाइ छ।

उद्धारमा नेपाली सुरक्षाकर्मीसँगै भारत र चीनका सुरुङ विशेषज्ञ टोलीसमेत परिचालित छन्। भारतका विशेषज्ञ टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजना क्षेत्रमा नेपाली सेनासँग समन्वय गरी काम गरिरहेका छन् भने चिनियाँ विशेषज्ञ टोलीले माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा खोज तथा उद्धार गरिरहेको छ। दक्षिण कोरियाबाट समेत उद्धार टोली आउने तयारी भइरहेको छ।

बाढीपछि सुरुङभित्र बेपत्ता भएकाहरूको अवस्थाबारे परिवारहरूमा गहिरो चिन्ता छ। उद्धारमा ढिलाइ भएको भन्दै आफन्तहरूले तत्काल विशेष उपकरण र दक्ष जनशक्ति परिचालन गर्न सरकारसँग माग गर्दै आएका छन्।

यसअघि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र करिब १०० मिटर प्रवेश गरेको संयुक्त टोलीले दुई जनाको शव फेला पारेको थियो। माथिल्लो त्रिशूली–१ को सुरुङमा समेत उद्धार टोली करिब ३०० मिटरभित्र पुगेको र एक जनाको शव फेला परेको बताइएको छ।

यसैबीच, सुरुङ उद्धारमा सरकारको एकद्वार प्रणालीमाथि समेत प्रश्न उठ्न थालेको छ। सात दिनसम्म नेपाली सेनाको नेतृत्वमा उद्धार प्रयास प्रभावकारी हुन नसकेपछि सरकारले सम्बन्धित जलविद्युत् आयोजना तथा प्रवर्द्धक कम्पनीलाई आफ्ना प्राविधिक जनशक्ति र उपकरणसहित उद्धारमा सहभागी हुन अनुमति दिएको छ।

सरकारका अनुसार बाढीबाट रसुवा र नुवाकोटका १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा कार्यरत ८९४ कर्मचारी तथा कामदार अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।

उद्धारमा कठिन भूगोल, सुरुङमा भरिएको पानी तथा माटो, प्रवेशद्वारमा थुप्रिएको भग्नावशेष र पर्याप्त विशेषज्ञ उपकरणको अभाव मुख्य चुनौती बनेका छन्। तर परिवार तथा आफन्तले भने उद्धारको सम्भावना रहेसम्म सरकारले सबै सम्भव उपाय अपनाउनुपर्ने माग गर्दै आएका छन्।

गृहमन्त्रीले पनि उद्धारको आशा अझै नछाडिएको र सुरुङभित्र पुग्न नसकिए वैकल्पिक उपाय अपनाएर भए पनि खोजी जारी राखिने बताएका छन्।

सम्बन्धित समाचार