कृष्णभीर पहिरोको दीर्घकालीन समाधानमा सुरुङ र बाइपासको अध्ययन

1k Shares

काठमाडौँ । कृष्णभीर पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन तत्काल अस्थायी संरचना निर्माण गरिने भएको छ। दीर्घकालीन समाधानका लागि भने सुरुङमार्ग र बाइपास सडक निर्माणको विकल्पमा अध्ययन गरिने भएको छ।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका उपायबारे मन्त्रालयमा छलफल भएको जानकारी दिनुभयो।

राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापित गर्न हिलसाइडमा रहेको ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माण अघि बढाउने निर्णय भएको उहाँले बताउनुभयो।

यस्तै, कृष्णभीरको माथिल्लो भागबाट नयाँ ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याउने विकल्पमा पनि सहमति भएको छ।

सडक सञ्चालनका लागि आवश्यक स्थानमा ट्र्याक खोल्ने, ग्याबियन बक्स तयार गर्ने र हिलसाइडबाट बोल्डर तल खसालेर सडक निर्माणका लागि आधार तयार गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।

दीर्घकालीन रूपमा भने पहिरोको जोखिम कम गर्न सुरुङमार्ग, ‘सोइल नेलिङ’, ‘सिट पाइल’लगायत प्रविधिको सम्भाव्यता अध्ययन गरिनेछ।

मन्त्रालयले सुरुङ वा बाइपास सडक निर्माणका सम्भावित विकल्पबारे तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडकको व्यवस्था गर्न आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

उक्त अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक प्राविधिक तथा विज्ञ सेवा उपलब्ध गराउनेछ। आवश्यकताअनुसार सडक विभाग र सोसाइटीबीच समझदारी (एमओयू) समेत गरिने मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार