सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तह पार

1.5k Shares

काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको वर्षासँगै ठूला नदीहरूमा पानीको बहाव बढेको छ। बुधबार बिहानको मापनअनुसार सुनकोशी, बुढीगण्डकी र महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ बजेको मापनमा यी तीनवटै नदीका जलमापन केन्द्रमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगेको हो।

सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा जलसतह ७.६२ मिटर पुगेको छ। उक्त स्थानमा ७.५ मिटरलाई सतर्कता तह मानिन्छ। यहाँ पानीको बहाव हाल स्थिर रहेको छ।

त्यस्तै, गोरखाको आरुघाटस्थित बुढीगण्डकी नदीमा जलसतह ३.६ मिटर पुगेको छ। आरुघाटमा ३.५ मिटरलाई सतर्कता तह मानिन्छ। यहाँ पानीको सतह भने विस्तारै घट्दो क्रममा रहेको जनाइएको छ।

डडेलधुराको पारीगाउँस्थित महाकाली नदीमा जलसतह ६.३७ मिटर पुगेको छ। उक्त स्थानको सतर्कता तह ५.८ मिटर हो। महाकालीमा पनि पानीको बहाव हाल स्थिर रहेको छ।

तीनवटै नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेपछि बाढी पूर्वानुमान महाशाखाले नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

नदी तथा खोलाको किनारमा नजान, पानीको बहाव र जलसतहमा हुन सक्ने परिवर्तनबारे सचेत रहन तथा जोखिम बढे सुरक्षित स्थानमा जान आवश्यक तयारी गर्न महाशाखाले अनुरोध गरेको छ।

यसैबीच, महाकाली नदीमा पानीको बहाव बढेका कारण शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमनसमेत रोकिएको छ।

 

सम्बन्धित समाचार