फणीन्द्र फेरि मन्त्री बन्दै, नन्दप्रसादलाई भौतिक मन्त्रालय

1.9k Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। नेकपा एमालेका मन्त्रीहरूलाई सरकारबाट फिर्ता गराउने तयारीसँगै मुख्यमन्त्री पाण्डेले नयाँ मन्त्री नियुक्तिको तयारी गरेका हुन्।

मन्त्रिपरिषद् पुनर्गठनका क्रममा नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटालाई पुनः ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ। यसअघि पनि देवकोटा यही मन्त्रालयको जिम्मेवारीमा थिए।

देवकोटाले मन्त्री पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी नन्दप्रसाद न्यौपानेलाई दिइएको थियो। अब पुनर्गठनसँगै देवकोटालाई ऊर्जा मन्त्रालयमा फर्काउने र न्यौपानेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थापन मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको हो।

मुख्यमन्त्री पाण्डेले यसअघि एमालेका मन्त्रीहरूलाई नैतिकताका आधारमा राजीनामा दिएर सरकारबाट बाहिरिन आग्रह गरेका थिए। केन्द्रमा भएको राजनीतिक सहमतिपछि प्रदेश सरकारहरूमा समेत सत्ता समीकरण फेरबदलको प्रक्रिया अघि बढेपछि गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र भएको हो।

गण्डकी सरकारमा हाल एमालेका चार मन्त्री छन्। उनीहरूलाई फिर्ता बोलाउने विषयमा एमालेको प्रदेश संसदीय दलमा छलफल भएको थियो। एमालेले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेपछि मुख्यमन्त्री पाण्डेले नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढाएका हुन्।

देवकोटालाई पुनः सरकारमा सहभागी गराउने विषयमा यसअघि नै छलफल हुँदै आएको थियो। उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय दिने विषयमा सहमति नजिक पुगेको भए पनि उनले भौतिक पूर्वाधार मन्त्रालयमा रुचि देखाएको बताइएको थियो।

गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेकपा पक्षका ६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसद छन्। सरकार गठनका लागि राप्रपाको समर्थन पनि महत्वपूर्ण मानिँदै आएको छ।

केन्द्रमा कांग्रेस, एमाले र नेकपाबीच बनेको नयाँ राजनीतिक समीकरणपछि प्रदेश सरकारहरूमा समेत यसको प्रभाव देखिएको हो। गण्डकीमा भने सरकारको नेतृत्व र समर्थनको समीकरणलाई लिएर दलहरूबीच निरन्तर छलफल हुँदै आएको छ।

सम्बन्धित समाचार