काठमाडौँ । भोटेकोशी बाढी आएको एक साता बितिसक्दा पनि महोत्तरीका केही परिवार आफ्ना आफन्तको खबरको प्रतीक्षामा छन्। रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत तथा अन्य कामका सिलसिलामा पुगेका १३ जना अझै परिवारको सम्पर्कमा आउन सकेका छैनन्।
बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टको हातमा मोबाइल छुटेको छैन। अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत छोरा सौभाग्य बिष्ट बाढीपछि सम्पर्कविहीन भएपछि उहाँ छोराको फोन आउने आशामा बसिरहनुभएको छ।
भदौ १० गते बिहान ९ बजेपछि सौभाग्यसँग सम्पर्क हुन सकेको छैन। सामान्य आर्थिक अवस्थाको बिष्ट परिवार मेकानिकल इञ्जिनियर रहेका सौभाग्यको कमाइमा निर्भर थियो। छोराको खोजीका लागि बुबा ध्रुव बिष्ट र मावलीघरका आफन्त रसुवा पुगेका छन्।
बर्दिबास–९ पशुपतिनगरका खिलबहादुर राना मगरको परिवारको अवस्था पनि उस्तै छ। अपर त्रिशूली–१ मै कार्यरत छोरी जोया रानासँग भदौ १० गते बिहान ९ बजेपछि सम्पर्क हुन सकेको छैन। छोरीको खोजीमा खिलबहादुरले हेलिकप्टरसमेत भाडामा लिएर रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा खोजी गर्नुभएको छ। तर अहिलेसम्म जोयाको अवस्था पत्ता लाग्न सकेको छैन।
मटिहानी–७ का ४० वर्षीय गङ्गाराम मण्डल पनि बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ। काठमाडौँस्थित रिचा टुर्स कम्पनीमा भान्सेको काम गर्ने मण्डल भदौ ९ गते कम्पनीका पाहुनासँगै रसुवा जानुभएको थियो। त्यसपछि उहाँसँग परिवारको सम्पर्क भएको छैन। आमा, पत्नी र चार छोराछोरी उहाँको एउटा फोनको प्रतीक्षामा छन्।
त्यस्तै, जलेश्वर–७ का हशन अन्सारी पनि भदौ १० गते बिहान ९ बजेपछि सम्पर्कविहीन हुनुहुन्छ। रसुवाको एक जलविद्युत् आयोजनामा मेकानिकको काम गर्ने अन्सारीले अन्तिमपटक भदौ ९ गते आमा मुलिमा खातुनलाई फोन गर्नुभएको थियो। केही दिनभित्र एक साताको बिदामा घर आउने बताउनुभएका हशनको फोन नआएपछि परिवारमा चिन्ता बढेको छ।
भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटमा सम्पर्कमा आएका महोत्तरीका १८ जनालाई जिल्ला प्रशासन कार्यालयले सुरक्षित रूपमा परिवारको सम्पर्कमा पठाइसकेको छ। सम्पर्कविहीन भएका १९ जनामध्ये ६ जना पनि परिवारको सम्पर्कमा आइसकेका छन्।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अब जिल्लाका १३ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा परिवारसँग सम्पर्क गराउने प्रयास निरन्तर भइरहेको उहाँले बताउनुभयो।
“विश्वास गरौँ, सबै सकुशल भेटिनुहोस्,” प्रजिअ यादवले भन्नुभयो।
भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहे पनि सम्पर्कविहीन व्यक्तिका परिवार भने आफ्ना आफन्त सकुशल भेटिने आशामा दिनरात प्रतीक्षामा छन्।