काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाढीले नेपाल–चीन सीमा नाका रसुवागढी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बाढीले भन्सार, अध्यागमन र सुरक्षा निकायका संरचनासमेत बगाएपछि सडक सम्पर्क टुटेको छ ।
अहिले रसुवागढी क्षेत्रमा मानवीय चहलपहलसमेत शून्यजस्तै छ । तर, यही सुनसान क्षेत्रमा अहिले नेपाल टेलिकमको टावर राज्यको एक्लो प्रतिनिधिजस्तै बनेर उभिएको छ ।
टावर नजिकैको गोठमा बसेर टेलिकमका तीन प्राविधिकले दूरसञ्चार सेवा नियमित गरिरहेका छन् । उनीहरूको सुरक्षाका लागि तीन जना प्रहरीसमेत खटिएका छन् ।
बाढीपछि विद्युत् आपूर्ति अवरुद्ध हुँदा टेलिकमको साइट बन्दजस्तै भएको थियो । अहिले भने डिजेल जेनेरेटरबाट सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली सेनाको सहयोगमा टेलिकमका प्राविधिकले रसुवागढीको साइट सञ्चालनमा ल्याएका हुन् । सेनाको हेलिकोप्टरमार्फत डिजेल र जेनेरेटर पुर्याएर सेवा नियमित गरिएको उहाँले बताउनुभयो ।
बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये रहेको रसुवागढीको टावर भदौ १४ गतेदेखि सञ्चालनमा आएको हो । टावर सञ्चालनमा आएपछि त्यस क्षेत्रमा मोबाइल डिभाइस सक्रिय हुन थालेका छन् ।
“टावर नियमित भएपछि नजिकका गाउँमा मात्रै होइन, बाढीका कारण समस्यामा परेकाहरूलाई सम्पर्कमा आउन पनि सहज भएको छ,” प्रबन्ध निर्देशक पहाडीले भन्नुभयो ।
टेलिकमका अनुसार बाढीपछि रसुवा, नुवाकोट र धादिङमा रहेका १२० साइटमध्ये ८३ वटा साइटबाट सञ्चालित सेवा अवरुद्ध भएको थियो । टिमुरे, चिलिमे खोला र त्रिशूली–३ ‘बी’का तीन साइट भने पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।
यसका कारण मोबाइल तथा इन्टरनेट सेवा प्रभावित बनेको थियो । टेलिकमले एक सातामै प्रभावित सबै साइटको सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।
पूर्ण रूपमा क्षतिग्रस्त टावर भएका ठाउँमा भने नजिकैको अर्को साइटबाट सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
बाढीका कारण विद्युत् आपूर्ति नियमित नभएका साइटमा टेलिकमले जेनेरेटरमार्फत सेवा दिइरहेको छ । त्यस्तै, विभिन्न टावरबीच सम्पर्क स्थापित गर्ने फाइबरमा क्षति पुगेपछि कतिपय साइटमा माइक्रोवेभ अर्थात् ताररहित प्रविधि प्रयोग गरेर सेवा सञ्चालन गरिएको छ ।
तर माइक्रोवेभ प्रविधिबाट सञ्चालन भएका साइटमा इन्टरनेटको डेटा गति केही कम हुन सक्ने टेलिकमले जनाएको छ ।
निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेल लिमिटेडले पनि बाढीका कारण अवरुद्ध भएका आफ्ना अधिकांश साइट सञ्चालनमा ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार बाढीबाट क्षतिग्रस्त भएका तीन वटा टावरबाहेक अवरुद्ध भएका ७५ वटा साइट सञ्चालनमा आइसकेका छन् ।
बाढीका कारण एनसेलको ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर पूर्ण रूपमा क्षतिग्रस्त भएको कम्पनीले जनाएको छ । यसबाट करिब ९ करोड रुपियाँ बराबरको आर्थिक क्षति भएको एनसेलको दाबी छ ।
फाइबरमा क्षति पुगेका क्षेत्रमा पनि माइक्रोवेभ प्रविधिमार्फत सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । विद्युत् आपूर्ति नियमित नभएका साइटमा हेलिकोप्टरमार्फत डिजेल र जेनेरेटर पुर्याएर दूरसञ्चार सेवा सञ्चालन भइरहेको एनसेलले जनाएको छ ।
यसरी बाढीले भौतिक संरचना ध्वस्त बनाएर सडक तथा मानवीय सम्पर्कसमेत विच्छेद गराएको रसुवागढीजस्तो क्षेत्रमा दूरसञ्चार सेवा भने वैकल्पिक प्रविधि र सुरक्षा निकायको सहयोगमा पुनः सञ्चालनमा आएको छ ।