काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आज भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदै छन्। द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। त्यसैले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भनिन्छ।
यस अवसरमा देशभरका कृष्णमन्दिरमा पूजाआराधना, प्रवचन, भजनकीर्तन तथा झाँकीसहितका कार्यक्रम आयोजना गरिँदै छन्। भक्तजनले व्रत बसी रातभर जाग्राम बस्ने प्रचलनसमेत छ।
भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले अन्याय र अत्याचारविरुद्ध सत्य तथा सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरित गरेको धार्मिक ग्रन्थमा उल्लेख छ। कुरुक्षेत्रमा अर्जुनलाई दिएको उपदेश ‘श्रीमद्भागवतगीता’का रूपमा प्रसिद्ध छ।
जन्माष्टमीका अवसरमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा विशेष मेला लाग्नेछ। कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाममा पनि भक्तजनको भिड लाग्ने गर्छ।
काठमाडौँका विभिन्न कृष्णमन्दिरमा पूजाआराधनाका साथै धार्मिक संघ–संस्थाले झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।