काठमाडौँ आउने–जाने यी सडकमा अझै जोखिम

1.3k Shares

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने देशका विभिन्न मुख्य सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको विवरणअनुसार बागमती, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुख सडकमा यातायात सञ्चालनमा समस्या देखिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ–७ स्थित कृष्णभिरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही राजमार्गको परेवा भिरमा साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन् भने कमेरेभिरमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।

काठमाडौँ–धादिङ जोड्ने चन्द्रागिरि–२ चिसापानीमा पनि पहिरोका कारण एकतर्फी रूपमा मात्रै सवारीसाधन चलिरहेका छन् ।

काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबँसी खण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । १० टनसम्मका मालवाहक सवारीसाधनलाई भने दिउँसोको समयमा सञ्चालन गर्न दिइएको छ ।

रसुवाका सबै मुख्य राजमार्ग तथा उत्तरगयाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण पूर्ण रूपमा ठप्प छन् । नुवाकोटको पासाङ ल्हामु सडकखण्डअन्तर्गत सिमटारमा पनि यातायात अवरुद्ध छ । टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, कर्णाली प्रदेशको मुगु–गमगढी सडकखण्डअन्तर्गत छायाँनाथ रारा–४ ताल्चामा पहिरोका कारण सडक बन्द भएको छ ।

लुम्बिनी प्रदेशमा रोल्पाको सहिदमार्ग तथा घोराही–थवाङ सडकखण्ड र अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सम्बन्धित समाचार