पहिरोले चौलानी नदी थुनिन सक्ने जोखिम, तटीय बस्तीलाई सतर्क रहन आग्रह

1.4k Shares

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–२ भट्टार क्षेत्रमा गएको पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको छ । पहिरोले नदीको केही भाग पुरिएपछि नदी थुनिन सक्ने जोखिम बढेको हो ।

प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरो गएको क्षेत्रमा क्षतिको आधिकारिक विवरण आइसकेको छैन । घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ । नदीको बहाव प्रभावित भएकाले नदी किनारका बस्तीलाई सतर्क गराउन लागिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै माथिबाट आएको पहिरोले चौलानी नदीको केही भाग पुरिएको र पहिरो आउने क्रम जारी रहेको जनाएको छ । पहिरोका कारण नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेकाले प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

नदी थुनिएर एक्कासि फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले सम्भावित जोखिमबाट बच्न नागरिकलाई सचेत रहन भनेको छ ।

सम्बन्धित समाचार