कागजमा ग्यासको थुप्रो, बजारमा उपभोक्ताको हाहाकार

1.7k Shares

काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदै जाँदा उपभोक्ता घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् । तर, नेपाल आयल निगमले भने वैकल्पिक मार्गबाट पर्याप्त ग्यास भित्र्याइएको दाबी गरेको छ ।

रसुवा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा गएको पहिरोका कारण ग्यास आपूर्ति प्रभावित भएको हो । राजमार्ग अवरुद्ध भएपछि उपत्यकामा ग्यास ल्याउने नियमित मार्ग बन्द भएको छ ।

निगमका अनुसार भदौ १८ देखि २० गतेसम्म वैकल्पिक मार्ग प्रयोग गरी ८७ हजार ८ सय ७७ सिलिन्डर ग्यास काठमाडौं ल्याइएको छ । तीन दिनमा क्रमशः २४ हजार ४ सय ९४, ३४ हजार १ सय ३४ र २९ हजार २ सय ४९ सिलिन्डर भित्रिएको निगमको तथ्यांक छ ।

सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने गर्छ । तर, पछिल्लो समय माग बढेर दैनिक एक लाखभन्दा बढी पुगेको निगमले जनाएको छ ।

निगमले दैनिक करिब ३० हजार सिलिन्डर बजारमा पठाइरहेको दाबी गरे पनि उद्योगी र डिलरहरूले भने मागअनुसार ग्यास आपूर्ति हुन नसकेको बताएका छन् । उपभोक्ताले भने निगमको तथ्यांकअनुसार ग्यास आएको भए पनि आफूहरूले किन नपाएको भन्दै प्रश्न उठाएका छन् ।

एउटै सिलिन्डरको ३ हजारसम्म असुली

ग्यास अभावको फाइदा उठाउँदै कालोबजारी बढेको उपभोक्ताको गुनासो छ । कतिपयले एउटै सिलिन्डरका लागि ३ हजार रुपैयाँभन्दा बढी तिर्नुपरेको बताएका छन् ।

वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा ढुवानी खर्च बढेको भन्दै निगमले उद्योगीलाई प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ ३८ पैसा थप ढुवानी भाडा लिन स्वीकृति दिएको छ । यससँगै ग्यासको मूल्य २ हजार १ सय ६५ रुपैयाँ पुगेको छ ।

निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले भने अन्य उपभोग्य वस्तुको तुलनामा ग्यास अझै सस्तो रहेको तर्क गरेका छन् । उनले एक सिलिन्डर ग्यासले एउटा परिवारलाई करिब दुई महिनासम्म पुग्ने भन्दै मूल्यको तुलना मासुसँग गरेका थिए ।

उनको उक्त अभिव्यक्तिको सामाजिक सञ्जालमा आलोचना भएको छ । उपभोक्ताले ग्यास आधारभूत आवश्यकता भएकाले मासुसँग तुलना गर्नु उचित नभएको बताएका छन् ।

निगम भन्छ– सूक्ष्म व्यवस्थापन गर्न जनशक्ति छैन

कार्यकारी निर्देशक साहले ग्यास वितरण उद्योगीले आफ्नै डिलर नेटवर्कमार्फत गरिरहेको बताए । निगमले कुनै निश्चित स्थान तोकेर नभई उद्योग र डिलरकै प्रणालीबाट ग्यास वितरण गर्न निर्देशन दिएको उनको भनाइ छ ।

उनका अनुसार निगमसँग जम्मा करिब ५ सय कर्मचारी छन् भने ग्यास विभागमा १० देखि १५ जना मात्र छन् । त्यसैले भिड व्यवस्थापन र अनुगमनमा स्थानीय प्रशासन तथा प्रहरीले सहयोग गर्नुपर्ने उनले बताए ।

कृष्णभिरको बाटो खुल्नेबित्तिकै ग्यास आपूर्ति सहज हुने निगमको दाबी छ ।

उद्योगी भन्छन्– मागअनुसार आपूर्ति गर्न सकिएन

एभरेस्ट ग्यास उद्योगका सञ्चालक सुदीप घिमिरेले दैनिक ४० देखि ५० हजार सिलिन्डर खपत हुने बजारमा कुनै दिन शून्य र कुनै दिन मुस्किलले ३० हजार सिलिन्डर मात्र आपूर्ति भइरहेको बताए ।

त्यस्तै, नेपाल ग्यास उद्योगका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले दैनिक १० हजार सिलिन्डरको माग रहे पनि २ हजार ५ सय मात्र वितरण गर्न सकिएको जानकारी दिए ।

उनले डिलरहरूलाई उद्योगमै आएर ग्यास लैजान भनिएको र बालाजु औद्योगिक क्षेत्रको गेटबाट स्थानीयलाई दैनिक करिब १ हजार सिलिन्डर वितरण भइरहेको बताए ।

डिलरलाई ढुवानी खर्च धान्नै मुस्किल

उद्योगबाट ग्यास नआएपछि डिलरहरू आफैं तराईका जिल्लामा पुगेर ग्यास ल्याउन बाध्य भएका छन् । यसले ढुवानी खर्च बढाएको व्यवसायीहरूको भनाइ छ ।

ललितपुर पाटनकी एक ग्यास विक्रेताका अनुसार चितवन गएर ग्यास ल्याउँदा ट्रकले १ लाख रुपैयाँसम्म भाडा माग्ने गरेको छ । ७०–८० वटा सिलिन्डर ल्याउँदा सरकारले दिएको थप ढुवानी भाडाले मात्र खर्च नधान्ने उनले बताइन् ।

ग्यास विक्रेता महासंघ नेपालका प्रथम उपाध्यक्ष गेहेन्द्रप्रसाद रिजालले उपभोक्ताको दबाब थेग्न नसकेर कतिपय डिलर सञ्चालकले मोबाइल नै बन्द गर्न थालेको बताए ।

उपभोक्ता अधिकारकर्मी भन्छन्– वितरणमा महाभद्रगोल

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले ग्यास वितरणको अवस्था महाभद्रगोल भएको टिप्पणी गरेका छन् । उनका अनुसार ग्यास नपाएर सुत्केरी, बिरामी, विद्यार्थी र मजदुरसमेत सडकमा रात बिताउन बाध्य भएका छन् ।

उनले संकटको समयमा राज्यले सेना, प्रहरी र सशस्त्र प्रहरीका ठूला ट्रक प्रयोग गरेर उपत्यका बाहिरबाट ग्यास ल्याई वितरण गर्नुपर्ने बताए ।

प्राकृतिक विपत्तिले निम्त्याएको संकटसँगै कमजोर आपूर्ति प्रणाली र सरोकारवाला निकायबीचको समन्वय अभावका कारण ग्यास बजारमा समस्या बढेको देखिएको छ ।

सम्बन्धित समाचार