भक्तपुर, २२ भदौ । गए राति परेको अविरल वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति पुगेपछि भक्तपुरका किसान दुःखी बनेका छन् । धान काट्ने समय नजिकिँदै गर्दा परेको ठूलो वर्षाले किसानको वर्षभरिको मेहनत जोखिममा परेको छ ।
रोपाइँदेखि गोडमेल, मलजल र सिँचाइ गर्दै हुर्काएको धान पाक्ने बेलामा पानी र हावाहुरीका कारण ढलेपछि उत्पादन घट्ने चिन्ता किसानमा थपिएको छ । चाँगुनारायण नगरपालिका–५ छालिङका किसान सौगात गिरीका अनुसार राति परेको वर्षाले खेततर्फको खोला र खोल्साको पानी पस्दा धानबालीमा क्षति पुगेको हो ।
खोलामा लामो समयदेखि जम्मा भएका फोहरका थुप्रोसमेत खेतमा पस्दा धानबालीमा थप क्षति पुगेको किसानको भनाइ छ । वर्षाका कारण खेतमा पानी जम्नुका साथै कतिपय स्थानमा खोला तथा खोल्साको पानी खेतमा पसेपछि धान ढलेर नष्ट भएको छ ।
“वर्षे धान रोपेदेखि धान घरमा नभित्राएसम्म पानी परेपछि धान डुबानमा पर्ला कि भनेर चिन्तामा बस्नुपर्ने अवस्था छ,” किसान गिरीले भने । यसपटक पनि पाक्न ठिक्क परेको धान वर्षाको पानीले ढलेर नष्ट भएपछि किसान दुःखी भएको उनले बताए ।
किसानहरूले वर्षायाममा खेत डुबानको समस्या समाधान गर्न खोला तथा खोल्साको उचित व्यवस्थापन, फोहर हटाउने तथा व्यवस्थित कोरिडोर निर्माण गर्न स्थानीय तहसँग माग गर्दै आएका छन् । समयमै समस्या समाधान नगरे हरेक वर्ष धानबालीमा क्षति पुग्ने र किसानको उत्पादन तथा आम्दानीमा असर पर्ने उनीहरूको भनाइ छ ।
भक्तपुरकी किसान रामप्यारी सुवालका अनुसार पाक्नै लागेको धान ढलेपछि त्यसलाई पुनः उठाएर मुठामुठा बाँध्नुपर्ने हुन्छ । यसरी उठाएर बाँध्दा पनि धानमा दाना राम्रोसँग नलाग्ने र अन्ततः उत्पादन घट्ने उनले बताइन् ।
भक्तपुरलाई किसानको जिल्ला भनेर समेत चिनिन्छ । जिल्लाका चार नगरपालिका—भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायणमध्ये विशेषगरी सूर्यविनायक र चाँगुनारायणका विभिन्न क्षेत्रमा अझै ठूलो क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
तर, ग्रामीण तथा सहरी क्षेत्रमा तीव्र रूपमा भइरहेको भौतिक विस्तारका कारण खेत तथा प्राकृतिक पानी बग्ने मार्गमा दबाब बढ्दै गएको छ । ठूलो वर्षाका बेला पानीको निकास प्रभावित हुँदा खेतमा डुबानको जोखिम बढ्ने गरेको किसानहरूको अनुभव छ ।
किसानहरूले तत्काल क्षतिको स्थलगत अनुगमन गरी वास्तविक विवरण सङ्कलन गर्न र प्रभावित किसानलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन स्थानीय तहसँग माग गरेका छन् ।