नेपालबाट २२ हात्ती भारत प्रवेश

1.2k Shares

झापा । झापाका विभिन्न सामुदायिक वनमा करिब एक महिनादेखि बस्दै आएका २२ वटा जङ्गली हात्ती सोमबार बिहान भारततर्फ लागेका छन्।

हात्ती संरक्षणकर्मी शङ्कर लुइँटेलका अनुसार जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा समूह बनाएर बस्दै आएका हात्तीको बथान बिहानै भारततर्फ लागेको हो।

करिब एक महिनादेखि झापाका वन क्षेत्रमा रहेका हात्तीका कारण स्थानीयवासी त्रसित बनेका थिए। हात्ती बस्ती क्षेत्रमा प्रवेश गर्दा घर तथा अन्नबालीमा क्षति पुग्ने जोखिमसमेत रहँदै आएको थियो।

हात्तीको बथान भारततर्फ लागेपछि झापाका सीमावर्ती क्षेत्रमा केही राहत महसुस भएको छ। यद्यपि हात्तीहरू पुनः नेपालतर्फ फर्किन सक्ने भएकाले वन तथा स्थानीय प्रशासनले निगरानीलाई निरन्तरता दिनुपर्ने संरक्षणकर्मीहरूको भनाइ छ।

भारतसँग सीमा जोडिएको झापा क्षेत्रमा वर्षेनी जङ्गली हात्तीको आवतजावत हुने गरेको छ। वन क्षेत्र र बासस्थानबीचको आवतजावतका क्रममा हात्ती मानव बस्ती नजिक पुग्दा मानव–वन्यजन्तु द्वन्द्वको जोखिम बढ्ने गरेको छ।

यसअघि पनि हात्तीका कारण झापाका विभिन्न क्षेत्रमा बालीनालीमा क्षति तथा स्थानीयवासीमा त्रासको अवस्था सिर्जना हुँदै आएको छ। संरक्षणकर्मीहरूले हात्तीको प्राकृतिक आवतजावतको बाटो संरक्षणसँगै स्थानीय बासिन्दालाई सचेत र सुरक्षित राख्नुपर्नेमा जोड दिँदै आएका छन्।

 
 
 
सम्बन्धित समाचार