काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले बजारमा एक महिनादेखि देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौलागाईंले बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै ग्यासको अभावका कारण सर्वसाधारणले भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने बताए।
“भोटेकोसी बाढीले ठूलै बितन्डा मच्चायो । हामीले त्यसबाट ठूलो क्षति भोगेका छौँ,” उनले भने, “तर त्यससँगै अहिले बजारमा ग्यासको हाहाकार छ । ग्यास अभाव र हाहाकारका कारण बजारमा अहिले मुख देखाएर हिँड्न गाह्रो भयो । सरकार के हेरेर बसेको छ ?”
उनले प्राकृतिक विपत्तिका कारण नागरिक समस्यामा परिरहेका बेला अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकार असफल भएको आरोप लगाए।
सांसद चौलागाईंले काठमाडौँको नयाँबानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा मंगलबार आयोजित जेन–जी आन्दोलनको स्मृति कार्यक्रमबारे पनि प्रश्न उठाए।
गत वर्षको आन्दोलनमा बलिदानी गरेका जेन–जी युवाको सम्झनामा आयोजित कार्यक्रममा उनीहरूको भावनाविपरीत गतिविधि भएको भन्दै उनले त्यसबारे जवाफ दिनुपर्ने बताए।
“गत वर्ष बलिदानी गरेका जेन–जीहरूको सम्झनामा हिजो कार्यक्रम आयोजना गरियो । त्यो कार्यक्रममा जेन–जीहरूको भावनाविपरीत गएर किन गरियो ? त्यहाँ विवादित व्यक्तिहरूलाई किन सहभागी गराइयो ? त्यसबारे जवाफ दिनुपर्छ,” उनले भने।
चौलागाईंले ग्यासको आपूर्ति सहज बनाउन तथा जेन–जी आन्दोलनको स्मृति कार्यक्रमसँग जोडिएका प्रश्नको स्पष्ट जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन्।