बाढीपहिरोले काठमाडौँमा एलपी ग्यासको अभाव, वैकल्पिक मार्गबाट आपूर्ति प्रयास

1.7k Shares

काठमाडौँ । मुख्य राजमार्गमा गएको बाढीपहिरोका कारण एलपी ग्यासको ढुवानी प्रभावित भएपछि काठमाडौँ उपत्यकामा ग्यासको अभाव देखिएको छ । तराईका बोटलिङ प्लान्टबाट उपत्यकातर्फ हुने नियमित ढुवानी अवरुद्ध हुँदा ग्यास डिलरमा उपभोक्ताको चाप बढेको छ ।

आपूर्ति प्रभावित भएपछि कतिपय डिलरले पसलभित्रबाट मात्रै वितरण गर्न नसक्ने अवस्था आएपछि सडक किनारमै सिलिन्डर राखेर उपभोक्तालाई वितरण गर्न थालेका छन् । कतिपय उपभोक्ता ग्यासका लागि १० देखि १५ दिनअघि नै नाम टिपाएर पालो पर्खिरहेका छन् ।

नेपाल आयल निगमका प्रवक्ता एवं आपूर्ति तथा वितरण विभागका उपनिर्देशक मनोजकुमार ठाकुरका अनुसार बाढीपहिरोका कारण तराईबाट काठमाडौँतर्फ हुने ग्यास ढुवानी प्रभावित भएकाले मुख्य रूपमा उपत्यकामा आपूर्तिको समस्या देखिएको हो ।

उहाँका अनुसार खाली सिलिन्डर तराई पठाएर रिफिल गरी पुनः उपत्यका ल्याउने नियमित आपूर्ति प्रक्रियामा सडक अवरोधले असर गरेको छ । उपत्यकाबाहिर देखिएको आपूर्ति समस्या भने अहिले सामान्य भइसकेको निगमले जनाएको छ ।

वैकल्पिक मार्गबाट ग्यास ल्याउने प्रयास

मुख्य राजमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगहरूले चितवन, गैँडाकोट, हेटौँडा तथा नवलपरासीलगायतका स्थानमा रहेका बोटलिङ प्लान्टबाट ग्यास भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौँ ल्याउने प्रयास गरिरहेका छन् ।

कृष्णभीर तथा पृथ्वी राजमार्गमा पहिरोका कारण नियमित ढुवानी प्रभावित भएपछि हेटौँडा हुँदै त्रिभुवन राजपथ र कान्ति लोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालिएको छ ।

तर ती मार्ग मुख्य राजमार्गको तुलनामा साँघुरा र सीमित क्षमताका हुनुका साथै ठाउँ–ठाउँमा पहिरोको जोखिम रहेकाले एकैपटक ठूलो परिमाणमा ग्यास ढुवानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताएका छन् ।

वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा सामान्यभन्दा बढी समय लाग्ने गरेको छ । विशेषगरी रातको समयमा केही स्थानमा ठूला ढुवानी साधन सञ्चालन गर्न कठिन हुने भएकाले खाली सिलिन्डर तराई पठाएर भरिएका सिलिन्डर उपत्यका ल्याउने प्रक्रियामा थप समय लागिरहेको व्यवसायीको भनाइ छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कुमार राजभण्डारीका अनुसार मुख्य राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरी ग्यास तथा अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति निरन्तर राख्ने प्रयास भइरहेको छ ।

बाटोमा रोकिएका ग्यास बुलेटलाई तराईका अन्य प्लान्टतर्फ डाइभर्ट गरी ग्यास भरेर उपत्यका ल्याउने तथा टोकन प्रणालीमार्फत वितरण व्यवस्थित गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

१०–१५ दिनअघि नाम टिपाएका उपभोक्ता पनि पालोमा

आपूर्ति सीमित भएपछि काठमाडौँका ग्यास डिलरमा उपभोक्ताको चाप अत्यधिक बढेको छ । कतिपय डिलरमा १० देखि १५ दिनअघि नै नाम टिपाएका उपभोक्तासमेत पालो कुरेर सिलिन्डर लिन पुगिरहेका छन् ।

ग्यास आउने जानकारी पाएपछि पुराना उपभोक्ता सिलिन्डर बोकेर डिलर पुग्ने गरेका छन् । नयाँ उपभोक्ता पनि ग्यास पाउने आशामा डिलरमा नाम टिपाउन थालेका छन् ।

वनस्थली ग्यास ट्रेडर्सका सञ्चालक रामचन्द्र खड्काका अनुसार सामान्य अवस्थामा उहाँको डिलरबाट मासिक १० देखि १२ हजार सिलिन्डर बिक्री हुने गरेकोमा अहिले मागअनुसार ग्यास प्राप्त हुन सकेको छैन ।

“पहिरोका कारण नियमित ढुवानी प्रभावित भएपछि मागअनुसार ग्यास आउन सकेको छैन । ग्यास लिन आउने धेरै उपभोक्ता रित्तै फर्किनुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो ।

नियमित आपूर्ति नहुँदा उपभोक्ता एक डिलरबाट अर्को डिलरमा पुग्ने गरेका छन् । सीमित मात्रामा ग्यास आउँदा डिलरमा लामो लाइन लाग्ने गरेको छ ।

होटल तथा होस्टेल पनि प्रभावित

ग्यास अभावको असर घरायसी उपभोक्तामा मात्रै सीमित छैन । होटल, रेस्टुरेन्ट, होस्टेल तथा अन्य साना व्यवसायसमेत प्रभावित भएका छन् ।

महालक्ष्मी गल्र्स होस्टेलकी सञ्चालिका मोना पराजुलीले ग्यास लिन घण्टौँसम्म लाइन बस्नुपर्ने अवस्था आएको बताउनुभयो । समयमा ग्यास नपाउँदा होस्टेलमा बस्ने विद्यार्थीका लागि बिहान–बेलुका खाना पकाउनसमेत समस्या भएको उहाँको भनाइ छ ।

ठूलो परिमाणमा एलपी ग्यास खपत गर्ने होटल तथा होस्टेलले आपूर्ति प्रभावित भएपछि वैकल्पिक इन्धनको प्रयोग गर्न थालेका छन् । होटल सञ्चालक गौरीदेवी सुवेदीले ग्यास अभावका कारण वैकल्पिक इन्धन प्रयोग गर्नुपरेको बताउनुभयो ।

कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन आवश्यक

आपूर्ति प्रभावित भइरहेका बेला बजारमा कृत्रिम अभाव, बढी मूल्यमा बिक्री वा ग्यास लुकाएर राख्ने गतिविधि हुन सक्ने भएकाले प्रभावकारी बजार अनुगमन आवश्यक देखिएको छ ।

डिलरमा सीमित परिमाणमा ग्यास आउँदा उपभोक्ताको चाप बढेको अवस्थामा तोकिएको मूल्यभन्दा बढीमा बिक्री भए–नभएको तथा ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरिएको छ कि छैन भन्ने विषयमा सम्बन्धित निकायले निगरानी गर्नुपर्ने देखिएको हो ।

नेपाल आयल निगमले भने सडक अवरोधका कारण तत्काल आपूर्ति प्रणालीमा असहजता देखिए पनि वैकल्पिक मार्गबाट आपूर्ति कायम राख्ने प्रयास भइरहेको जनाएको छ । निगमले उपभोक्तालाई आत्तिएर आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ ।

मुख्य राजमार्गको अवरोध छिट्टै हट्न सके आपूर्ति क्रमशः सामान्य हुने अपेक्षा गरिएको छ । तर सडक अवरोध लम्बिँदै गएमा वैकल्पिक मार्गको सीमित क्षमता र ढुवानीमा लाग्ने अतिरिक्त समयका कारण काठमाडौँ उपत्यकामा ग्यास आपूर्तिमा थप दबाब पर्न सक्ने व्यवसायीहरूले बताएका छन् ।

सम्बन्धित समाचार