बाढीपीडितको पीडामा वाईसीएलको साथ, उद्धार, राहत र श्रमदानमा जुटे युवा

2.4k Shares

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संगठन वाईसीएल नेपाल सक्रिय भएको छ। बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा वाईसीएलले ६ सयभन्दा बढी स्वयंसेवक परिचालन गरेको जनाएको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसपछिको पहिरोले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएपछि वाईसीएलका सदस्यहरू खोज तथा उद्धार, राहत वितरण र स्थानीयस्तरमा आवश्यक सहयोगका लागि प्रभावित क्षेत्रमा खटिएका हुन्।

वाईसीएलले ‘निभेको चुलो बालौँ, निभेको आशा जगाऔँ’ अभियान सञ्चालन गर्दै जिल्ला प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरेर स्वयंसेवक परिचालन गरेको जनाएको छ। संगठनका अनुसार स्वयंसेवकहरूले बेपत्ताको खोजी, घाइतेको उद्धार तथा उपचारमा सहयोग र प्रभावित परिवारलाई खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने काम गरिरहेका छन्।

वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार बाढीका कारण खाना पकाउने ग्यासको अभाव भएपछि प्रभावित परिवारलाई ग्यास सिलिन्डर, खाद्यान्न र लत्ताकपडा वितरण गरिएको छ। रसुवाको उत्तरगया र कालिका गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलसँग समन्वय गरी चार वटा गाडीमार्फत राहत सामग्री प्रभावितसम्म पुर्‍याइएको उनले बताएका छन्। बेत्रावती बजारका पीडितलाई भाँडाकुँडा तथा अन्य आवश्यक सामग्रीसमेत वितरण गरिएको छ।

यातायात सम्पर्क विच्छेद भएका धादिङका हात्तीगौँडा र दुप्चीलगायत विकट क्षेत्रमा पनि वाईसीएलको टोली पुगेको छ। त्यहाँ बालबालिका तथा प्रभावित परिवारलाई स्टेशनरी सामग्री, जुत्ताचप्पललगायतका सामग्री वितरण गरिएको संगठनले जनाएको छ।

राहतसँगै श्रमदान

वाईसीएलले राहत वितरणमा मात्रै आफूलाई सीमित नराखी प्रभावित बस्तीमा श्रमदान अभियानसमेत सञ्चालन गरेको छ। नुवाकोटको तुप्चे, त्रिशूलीपारि लगायतका बस्ती तथा अस्थायी होल्डिङ सेन्टरमा पुगेर पीडितलाई राहत वितरण गर्नुका साथै बाढीले क्षति पुर्‍याएका घर तथा संरचनाबाट माटो, हिलो, ढुंगा र भग्नावशेष हटाउने काममा स्वयंसेवकहरू खटिएका छन्।

नुवाकोटमा वाईसीएलका केन्द्रीय अध्यक्ष पुष्प ओली, नेकपाका केन्द्रीय सदस्य राजन दाहाल तथा जिल्ला अध्यक्ष जलन गजुरेलको नेतृत्वमा टोली प्रभावित क्षेत्रमा परिचालित भएको छ।

श्रमदान तथा राहत अभियानअन्तर्गत प्रभावित परिवारलाई ९२ वटा डसना, ९० वटा तन्ना, ५० थान ओढ्ने पोलार, करिब १ सय बालबालिकाका लागि लत्ताकपडा, दुई रोल म्याट, हर्लिक्स तथा १ सय जोर चप्पल वितरण गरिएको जनाइएको छ। त्यसैगरी चामल, दाल, नुनलगायत खाद्यान्न, प्राथमिक उपचारका औषधि तथा बालबालिकाका लागि स्टेशनरी सामग्री पनि उपलब्ध गराइएको छ।

त्रिशूलीस्थित पुरानो बजार क्षेत्रमा बाढीले क्षति पुर्‍याएका घर तथा संरचनाबाट माटो, हिलो र ढुंगा पन्छाउन पनि वाईसीएलका कार्यकर्ता गैँती, बेल्चालगायतका सामग्री लिएर श्रमदानमा जुटेका छन्। संगठनले उद्धार र तत्कालीन राहतसँगै पुनःस्थापना तथा पुनर्निर्माणका चरणमा समेत स्थानीय समुदाय र राज्य संयन्त्रसँग समन्वय गरी स्वयंसेवक परिचालन गर्ने जनाएको छ।

रक्तदानदेखि राहत वितरणसम्म

बाढीबाट घाइते भएकाको उपचारमा रगतको अभाव हुन नदिन वाईसीएलले प्रारम्भिक चरणमै रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको थियो। भदौ ११ गते गरिएको आपत्कालीन रक्तदानमा १७० जनाले रक्तदान गरेको विवरण सार्वजनिक भएको छ।

त्यसको भोलिपल्ट संगठन विभाग प्रमुख वर्षमान पुन ‘अनन्त’सहितको केन्द्रीय टोली प्रभावित क्षेत्रमा पुगेको थियो। टोलीले स्थलगत अवस्थाको निरीक्षण गर्दै उद्धार तथा राहत कार्यमा सहभागी भएको वाईसीएलले जनाएको छ।

वाईसीएल अध्यक्ष ओलीले विपद्को यस घडीमा संगठनका सदस्यहरू मानवीय सेवाको भावनाले प्रभावित क्षेत्रमा खटिएको बताएका छन्। जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरेर बेपत्ताको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारको गास, बास र अन्य आवश्यकतामा सहयोग गर्ने काम भइरहेको उनको भनाइ छ।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै विभिन्न राजनीतिक दल, युवा संगठन, स्वयंसेवी संस्था तथा स्थानीय समुदाय पनि उद्धार र राहतमा परिचालित छन्। यस्तो अवस्थामा तत्कालीन राहतसँगै प्रभावित बस्तीको पुनःस्थापना, सडक तथा पुल पुनर्निर्माण र जीविकोपार्जनमा सहयोग पुर्‍याउने कामलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ।

सम्बन्धित समाचार