जनमतबाट निष्कासित, जनस्वराज र सर्वोदय हुँदै रास्वपा पुगेका दीपक साह मन्त्री

1.3k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका छन्। सुनसरी–४ बाट प्रतिनिधिसभामा निर्वाचित साहले बिहीबार नै मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहेकी गौरीकुमारी यादवले खाना पकाउने एलपी ग्यासको समस्या समाधान गर्न नसकेको भन्दै पदबाट राजीनामा दिएपछि उनको स्थानमा साहलाई नियुक्त गरिएको हो।

इन्जिनियर पेसाका साहको राजनीतिक यात्रा भने एउटै दलमा सीमित रहेन। उनले जनमत पार्टी गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। डा. सीके राउतसँग लामो समयदेखि निकट रहेका साह जनमत पार्टी गठन भएपछि उपाध्यक्ष तथा अनुशासन समितिको प्रमुख बनेका थिए। सुरुवाती चरणमा जनमत पार्टीको केन्द्रीय कार्यालयसमेत भक्तपुरस्थित साहकै घरमा सञ्चालन भएको थियो।

तर समयक्रममा राउत र साहबीच सम्बन्ध बिग्रिँदै गयो। आर्थिक विषय तथा जनमतकी सांसद गोमा लाभलाई पदबाट हटाउने विषयमा मतभेद बढेको बताइएको छ। त्यसपछि पार्टीले साहलाई स्पष्टीकरण सोध्दै निलम्बन गरेको थियो। जनमतले उनीमाथि पार्टीविरुद्ध गतिविधि गरेको र गुटगत बैठकमार्फत पार्टी फुटाउने प्रयास गरेको आरोप लगाएको थियो। अन्ततः साहलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको थियो।

जनमतबाट बाहिरिएपछि साह राजनीतिबाट टाढा बसेनन्। उनले आफ्नै नेतृत्वमा जनस्वराज पार्टी गठन गरी निर्वाचन आयोगमा दर्ता गराए। उक्त दलको वैधानिकताबारे विवाद भएपछि अदालतसम्म पुगेको विषयमा पनि उनी जोडिए। त्यसपछि उनले सर्वोदय दल गठन गरे। सर्वोदयले ‘मकैको घोगा’ चुनाव चिह्न पाएको थियो।

निर्वाचनको मुखमा साह नेतृत्वको सर्वोदय दल रास्वपामा विलय भयो। त्यसपछि साह रास्वपाबाट सुनसरी–४ मा उम्मेदवार बने। २०७९ सालको निर्वाचनमा उनले कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। साहले ४२ हजार ७७१ मत प्राप्त गर्दा कार्कीले १६ हजार ५८७ मत पाएका थिए।

रास्वपामा आएपछि पनि साह विभिन्न विवादमा परेका छन्। सुनसरीको कप्तानगञ्जमा भएको दुई समुदायबीचको घटनाबारे आफूखुसी प्रतिवेदन तयार गरेको भन्दै पार्टीभित्र उनीमाथि प्रश्न उठेको थियो। साहले भने गृहमन्त्री सुधन गुरुङको मौखिक निर्देशनमा आफूले छुट्टै प्रतिवेदन तयार गरेको दाबी गरेका थिए।

यसरी जनमत पार्टी गठनमा सहकार्य गरेका सीके राउतका निकट सहयोगीका रूपमा राजनीतिक यात्रा सुरु गरेका साह जनमतबाट निष्कासन, आफ्नै नेतृत्वमा दुई दल गठन र अन्ततः ती दलमध्ये सर्वोदयलाई रास्वपामा विलय गराउँदै प्रतिनिधिसभा सदस्य बनेका हुन्। अहिले उनी प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारीमा पुगेका छन्।

सम्बन्धित समाचार