काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको निर्वाचन प्रक्रिया सहज बनाउन सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले बिहीबार महाधिवेशन प्रक्रिया व्यवस्थित र सहज बनाउन सबै प्रदेशमा वरिष्ठ अधिवक्ताहरूलाई निर्वाचन संयोजकका रूपमा पठाइएको जानकारी दिएका हुन् ।
निर्वाचन समितिका अनुसार कोशी प्रदेशमा डिल्लीबहादुर कार्की, मधेश प्रदेशमा बलराम सुवेदी, बागमती प्रदेशमा कृष्ण अर्याल, गण्डकी प्रदेशमा जगन्नाथ ढकाल, लुम्बिनी प्रदेशमा दीपकुमार रेग्मी, कर्णाली प्रदेशमा उत्तम आचार्य र सुदूरपश्चिम प्रदेशमा गंगाराम पाध्यायलाई संयोजक तोकिएको छ ।
कांग्रेसले महाधिवेशनअन्तर्गतका विभिन्न तहका अधिवेशनमा निर्वाचन प्रक्रिया सहज बनाउन प्रदेशगत रूपमा संयोजक परिचालन गरेको हो । प्रदेश निर्वाचन संयोजकहरूले सम्बन्धित प्रदेशमा खटिएका निर्वाचन अधिकृत तथा स्थानीय तहसँग समन्वय गरी अधिवेशन प्रक्रिया अघि बढाउनेछन् ।
यसैबीच, बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका हकमा भने कांग्रेसले विशेष व्यवस्था गरेको छ । ती जिल्लामा यसअघि तोकिएका निर्वाचन अधिकृत र सम्बन्धित पार्टीका स्थानीय तहसँग समन्वय गरेर अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ ।
बाढीपहिरोका कारण प्रभावित क्षेत्रमा जनजीवन तथा आवागमनमा समस्या रहेकाले स्थानीय अवस्था हेरेर निर्वाचन प्रक्रिया अघि बढाउन कांग्रेसले सम्बन्धित संयन्त्रलाई निर्देशन दिएको हो ।
कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै वडा तहदेखि माथिल्ला तहका अधिवेशनका लागि निर्वाचन प्रक्रिया अघि बढाइरहेको छ । प्रदेश निर्वाचन संयोजकको नियुक्तिसँगै अधिवेशनका बाँकी प्रक्रियालाई थप व्यवस्थित बनाउने कांग्रेसको तयारी छ ।