स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१३ तारुखोलाका किसान धान र मकै खेती छाडेर व्यावसायिक अकबरे खुर्सानी खेतीतर्फ आकर्षित भएका छन् । बाँदरले क्षति नगर्ने, बजारमा माग उच्च रहने र राम्रो आम्दानी हुने भएपछि किसानले परम्परागत खेतीको विकल्पका रूपमा अकबरे खुर्सानी रोजेका हुन् ।
तारुखोलामा अहिले करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ । वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत यहाँ व्यावसायिक रूपमा खुर्सानी खेती भइरहेको छ ।
फार्म सञ्चालक दयाराम पाठकका अनुसार गत फागुनमा रोपिएका खुर्सानीका बिरुवाले अहिले उत्पादन दिन थालेका छन् । बजारमा अकबरे खुर्सानीको माग उच्च रहेकाले उत्पादनअनुसारको आपूर्ति गर्नसमेत कठिन भइरहेको उनले बताए ।
“गत फागुनमा लगाएको अकबरे खुर्सानीले उत्पादन दिन थालेको छ,” पाठकले भने, “उत्पादित खुर्सानीको माग बजारमा उच्च छ, पुर्याउनै धौ–धौ परेको छ ।”
फार्मबाट हाल दुई–तीन दिनको अन्तरमा करिब ३ सय किलो पाकेको अकबरे खुर्सानी बिक्री भइरहेको छ । उत्पादित खुर्सानी बुटवलस्थित तरकारी मण्डी, यशोदा फुड्स प्रालि तथा स्थानीय बजारमा बिक्री हुने गरेको छ । फार्मले खुर्सानी प्रतिकिलो २२० रुपैयाँका दरले बिक्री गर्दै आएको जनाएको छ ।
हालसम्म करिब ७ लाख रुपैयाँ बराबरको अकबरे खुर्सानी बिक्री भइसकेको फार्मको भनाइ छ । उत्पादन बढ्दै जाँदा आम्दानीसमेत थप बढ्ने अपेक्षा गरिएको छ । अकबरे खुर्सानी खेती विस्तारमा स्थानीय तह र कृषि परियोजनाको सहयोगसमेत रहेको छ । वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत हेफरले फार्मलाई मल्चिङ प्लास्टिक, मल, खुर्सानी सुकाउने मेसिन तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ ।
खुर्सानीसँगै फार्ममा माछापालन र कागती खेतीसमेत भइरहेको छ । यसरी एउटै फार्ममा विभिन्न कृषि गतिविधि सञ्चालन गर्दा किसानलाई आम्दानीका स्रोत विविधीकरण गर्नसमेत सहज भएको छ । उत्पादित कृषि उपज बजारसम्म पुर्याउन फार्मकै सवारीसाधन प्रयोग गरिएकाले बजारीकरणमा सहज भएको पाठकले बताए । बजारको मागअनुसार उत्पादन बढाउन सके अकबरे खुर्सानी खेतीबाट थप आम्दानी लिन सकिने उनको अपेक्षा छ ।
वालिङका अन्य क्षेत्रमा पनि अकबरे खुर्सानी खेती विस्तार भइरहेको छ । यसअघि वालिङ–१३ रियालेका किसान मनबहादुर सार्कीले १५ रोपनी जग्गामा १५ हजार अकबरेका बोट लगाएर छोटो समयमै आम्दानी लिन थालेका थिए । उनले बाँदरले नखाने, बजार मूल्य राम्रो हुने र खेती गर्न सहज भएकाले अकबरे रोजेको बताएका थिए।
यसले वालिङ क्षेत्रमा परम्परागत धान, मकैजस्ता बालीको तुलनामा बजारमुखी तथा उच्च मूल्य प्राप्त हुने कृषि उत्पादनतर्फ किसानको आकर्षण बढ्दै गएको संकेत गरेको छ ।