अवतरणका क्रममा जहाजको पछाडिको चक्का फुत्कियो, १३ यात्रु सकुशल

918 Shares

डोल्पा । नेपालगञ्जबाट डोल्पाको जुफालका लागि उडेको सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा पर्नबाट जोगिएको छ। बिहीबार बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजको पछाडिको दाहिनेतर्फको चक्का फुत्किएर बाहिर निस्किएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार जहाजमा ७ जना विदेशी नागरिक र ६ जना नेपाली गरी १३ जना सवार थिए। उनीहरूमध्ये ११ जना पुरुष र २ जना महिला रहेको प्रहरीले जनाएको छ।

चक्का फुत्किए पनि जहाजमा सवार सबै यात्रु सकुशल रहेको र अन्य कुनै क्षति नभएको राठौरले जानकारी दिए। उनका अनुसार जहाज अहिले पनि विमानस्थलको रनवेमा रहेको छ।

घटनापछि जहाजमा सवार यात्रु तथा जहाजको अवस्थाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार