बुढीगण्डकीमा बाढी आउनुअघि भूकम्पको जस्तै धक्का, पहिरोले खोला थुनिएपछि बाढी आएको आशङ्का

995 Shares

चितवन । गोरखाको चुमनुब्री गाउँपालिकामा बुढीगण्डकी नदीमा बाढी आउनुअघि भूकम्पको जस्तै ठूलो धक्का महसुस भएको गाउँपालिका अध्यक्ष निमा लामाले बताएका छन्। उनका अनुसार पहिरो खसेर खोला थुनिएपछि अचानक बाढी आएको हो।
अध्यक्ष लामाका अनुसार बिहान ४ बजेर २५ मिनेटतिर चुमनुब्री गाउँपालिका–६ अन्तर्गत चुनचेक गाउँनजिकै रहेको उन्जुलुङ खोलामाथिबाट ठूलो सुख्खा पहिरो खसेको थियो। पहिरो खस्दा भूकम्पको जस्तै धक्का महसुस भएको उनले बताए।
अध्यक्ष लामाले पहिरोका कारण बुढीगण्डकी स्यारखोला थुनिएको र त्यसपछि थुनिएको पानी एक्कासि बग्दा तल्लो क्षेत्रमा बाढीले क्षति पुर्‍याएको जानकारी दिए।
‘बुढीगण्डकी स्यारखोला थुनिएको खबर पाँच बज्नुभन्दा अलि अगाडि आएको थियो,’ उनले भने, ‘खबर पाएलगत्तै स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्थानीय बासिन्दालाई जानकारी गराएर सुरक्षित स्थानमा जान आग्रह गर्‍यौँ। त्यसैले मानवीय क्षति हुन पाएन।’
बाढीका कारण चुमनुब्री गाउँपालिकाभित्रका तीनवटा झोलुङ्गे पुल बगाएको अध्यक्ष लामाले बताए। गाउँपालिका–३ अन्तर्गत सल्लेरी, जगतको बगर र घट्टेखोलालगायतका क्षेत्रमा घर तथा बस्तीमा समेत क्षति पुगेको छ।
बाढीले भौतिक संरचना र बस्तीमा क्षति पुर्‍याए पनि हालसम्म मानवीय क्षति नभएको अध्यक्ष लामाले जानकारी दिएका छन्।

सम्बन्धित समाचार