गणेश खड्का
सर्लाहीको बरहथवा नगरपालिका १७ बाट प्रहरीले लागु औषध गाँजा सहित एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । बरहथवा नगरपालिका १७ श्रीपुर कटानीबाट १० किलो लागु औषध गाँजा सहित एउटा मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी सहायक निरिक्षक छोटेलाल यादवको कमाण्डको पाँच जनाको प्रहरीको गस्ती टोलीले बरहथवा नगरपालिका १७ श्रीपुर कटानीबाट १० किलो लागु औषध गाँजा सहित मोटरसाईकल नियन्त्रणमा लिएको हो ।
प्रहरीको गस्ती टोलीलाई देखेपछि लागु औषध गाँजा लिएर आएका मानिसहरु गाँजा सहित नम्बर नखुलेको मोटरसाईकल छोडी भागेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कैलाश राईले बताए । उनका अनुसार नम्बर नखुलेको रातो र सेतो रंगको २२० सि. सि.को मोटरसाईकलमा दुई वटा पोकामा रहेको अन्दाजी १० किलो लागु औषध गाँजा र सो मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको भएपनि मानिस भने फरार भएका छन् ।
त्यस्तै,विष्णु गाउँपालिका ६ बाट प्रहरीले सुन सहित २ जना मानिस र मोटरसाईकल नियन्त्रणमा लिएको छ । विष्णु गाउँपालिका ६ बाट प्रहरी बरिष्ठ नायव निरिक्षक धर्मेन्द्र ठाकुरको कमाण्डमा खटिएको प्रहरीको चेकिङ टोलीले ४६ ग्राम सुन सहित दुई जना मानिस र एउटा मोटरसईकल नियन्त्रणमा लिएको हो ।
विष्णु गाउँपालिका ६ स्थित फेन्हराबाट सिमरा तर्फ आउदै गरेको विआर ०६ विजी १९८६ नम्बरको भारतिय मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालकको साथबाट ३ थान रिङको ४६ ग्राम सुन फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उहाँका अनुसार मोटरसाईकलमा सवार दुई जनालाई ४६ ग्राम सुन सहित नियन्त्रणमा लिइएको हो ।प्रहरीले दुई जना मानिस नियन्त्रणमा लिएको बताए पनि मानिसको पहिचान भने लुकाएको छ ।