इश्वरपुरका करिब सवा दुई सय विपन्न परिवारलाई शुद्ध पिउने पानीको व्यावस्था

1.6k Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीको इश्वरपुर नगरपालिका १,३ र ९ का करिब सवा दुई सय विपन्न तथा गरीबलाई निःशुल्क खानेपानीको व्यावस्था गरिएको छ । इश्वरपुर नगरपालिका १,३ र ९ का करिब सवा दुई सय विपन्न तथा गरीबलाई इस्लामिक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज हरिवनले निःशुल्क खानेपानीको व्यावस्था गरेको हो ।
इश्वरपुर नगरपालिका १ को मस्लिम टोल,पोखरीया तक्मा टोल,बैद्यनाथपुर र शंकरगन्जका करिब ७५,इश्वरपुर नगरपालिका ३ को भक्तिपुर,खड्का टोल र तीनघरे मगरटोलका करीब ७५ घरपरिवार र इश्वरपुर नगरपालिका ९ को खुसीपुर,कुरैनियाँ,रामनगर र खोरियाटोलका करिब ७५ गरी कुल करिब दुई सय २५ विपन्न तथा गरीब घरपरिवारलाई चापाकल मार्फत शुद्ध पिउने पानीको व्यावस्था गरिएको उत्थानशील समुदायको निर्माण परियोजनाका परियोजना प्रमुख चिरिन्जीवि महतोले जानकारी दिए ।
उनका अनुसार नगरका तीन वटा वडामा गरी १५ वटा चापाकल मार्फत करिब दुई सय २५ विपन्न र गरीब घरपरिवारलाई शुद्ध पिउने पानीको व्यावस्था गरिएको हो । नगरका यी तीन वडाबासीले प्रयोग गर्दै आएको पिउने पानीमा आर्सेनिक नामक रासायनीक पदार्थ मिसिएको र जसबाट कपडा धुँदा कपडा पँहेलो हुने,चिया पकाउँदा चिया कालो हुनुका साथै सोही पानी पिउनु पर्दा स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु आएको गुनासो आएपछि नगरपालिकाले सिफारिस गरेर इस्लामिक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज हरिवनले प्रति चापाकल करिब ८० हजार लागनी गरेर निःशुल्क खानेपानीको व्यावस्था गरेको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार यस अघि सो क्षेत्रका बस्तीमा रहेका चापाकलहरु करिब ३० फिट मात्र गाडेर पानी आएपछि त्यही पानी पिउँदा,प्रयोग गर्दा स्वास्थ्य समस्या आउनुका साथै कपडा धुँदा कपडा पँहेलो हुने,चिया पकाउँदा चिया कालो हुने गरेको भएपनि इस्लामिक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज हरिवनको उत्थानशील समुदायको निर्माण परियोजनाले करिब एक सय ८० फिट गाडेर चापाकलबाट पानी निकाली चेकजाँच गरि शुद्ध पिउने पानीको व्यावस्था गरेको हो ।
अहिले इस्लामिक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज हरिवनको उत्थानशील समुदायको निर्माण परियोजना मार्फत गाडिएका चापाकलहरुमा शुद्ध पिउने पानी आउने गरेको र आफुहरुले पहिला गाडेको कल अहिले चलाउन छाडेको इश्वरपुर नगरपालिका १ का रधुवीर सिंहले बताए । आफुहरु गरीक भएकाले धेरै खर्च गरेर चापाकलहरु गहिरो गाड्न नसक्दा चापाकलमा पँहेलो पानी आएपनि त्यहि पानी पिउन र प्रयोग गर्न बाध्य भएको  भएपनि अहिले अहिले इस्लामिक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज हरिवनको उत्थानशील समुदायको निर्माण परियोजना मार्फत गाडिएका चापाकलहरुमा शुद्ध पिउने पानी आउँदा आफुहरुलाई निकै खुसी लागेको इश्वरपुर नगरपालिका १ की तस्लिम अन्सारीले बताए ।
पिउने पानीको पनि समस्या र गरीब विपन्न भएकाले खर्च गर्न सक्ने अवस्था नरहेका बस्तीको नगरपालिकाले पहिचान गरि सिफारिस गरेपछि आफुहरुले सोही क्षेत्रमा काम गरेको इस्लामिक रिलिफ नेपालको उत्थानशील समुदायको निर्माण परियोजनाका परियोजना प्रमुख चिरन्जीवि महतोले बताए । उनका अनुसार नगरका तीनवटा वडामा १५ वटा चापाकल गाडिएको र त्यसबाट करिब सवा दुई सय घरपरिवार लाभान्वित भएका हुन । सो क्षेत्रमा पहिला पानीमा आर्सेनीक मिसिएर आउने पानी पिउन स्थानीय बाध्य थिए भने अहिले सो समस्या हटेको छ ।

सम्बन्धित समाचार