गणेश खड्का
यातायात व्यवस्था कार्यालय वीरगञ्जबाट प्रहरीले १० जना बिचौलियालाई पक्राउ गरेको छ । कार्यालयमा आउने सेवाग्राहीलाई काम छिटो छरितो गराइदिने प्रलोभनमा पारेर रकम असुल्ने र कार्यालयका फाइल बोकेर हिँड्ने कार्यमा संलग्न १० जना बिचौलियालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका १२ का २५ वर्षीय आलोक कुमार यादव,वडा नम्बर १३ का ४५ वर्षीय किशोर कुमार दयाल, वडा नम्बर १५ का ४० वर्षीय दिपलाल साह, त्यही वडाका ४६ वर्षीय, वडा नम्बर ३ का ३७ वर्षीय रन्जित गुप्ता, वडा नम्बर ११ का २३ वर्षीय लालबाबु महत्तो, सोही वडाका ४५ वर्षीय राजेश लामा रहेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल साहले जानकारी दिए ।
उनका अनुसार कालिकामाई गाउँपालिका ४ का ४० वर्षीय राजेश महतो,बाराको परवानीपुर गाउँपालिका ५ का ४५ वर्षीय दरोगा दास र बाराकै प्रसौनी गाउँपालिका ६ का ३० वर्षीय मुकेश साहलाई समेत नियन्त्रणमा लिएको छ । यातायात कार्यालयमा बिचौलीयाहरूले सेवाग्राहीलाई विभिन्न प्रलोभन र बहानामा हैरान पारेको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट अनुगमनका लागि टोली खटिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब निर्मल बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार कार्यालयमा अनुगमनका क्रममा सेवाग्राहीलाई काम छिटो छरितो गरिदिन्छु भनेर बार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाइल च्यापेर भित्र बाहिर गर्ने,प्रचलित कानून विपरीत अत्यधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिँदै गरेको अवस्थामा भेटिएका बिचौलीयाहरूलाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका बिचौलीयाहरूलाई प्रहरीको हिरासतमा राखेर उनीहरू विरुद्ध सार्वजनिक हित,स्वास्थ्य, सुरक्षा,सुविधा र नैतिकता विरुद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक एवक प्रवक्ता बुढाथोकीले जानकारी दिए।