गणेश खड्का
अनुचित लेनदेन (मिटरब्याज) पीडितसँग जिल्ला प्रशासन कार्यालय सर्लाहीले निवेदन माग गरेको छ । एक सूचना जारी गर्दै कार्यालयमा स्थापना गरिएको सहायता कक्षामा सम्पर्क गरी यही वैशाख ३१ गतेसम्म निवेदन फारम भर्न अनुचित लेनदेन (मिटरब्याज) पीडितसँग जिल्ला प्रशासन कार्यालय सर्लाहीले आग्रह गरेको हो ।
पीडितलाई आफूसँग भएसम्मका सबुद प्रमाणसहित कारोवार÷लेनदेन भएको व्यहोरा लिएर आउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।उनका अनुसार जनकपुरमा आइतबार देखि खुलेको जाँचबुझ आयोगको कार्यालयमा पीडितले अनलाइनबाट समेत सोझै निवेदन दिन सक्ने छन् ।
पीडित जिल्ला प्रशासन कार्यालय सर्लाहीमै आए निःशुल्क फारम पाउने र कार्यालयकै कर्मचारीबाट फारम भर्ने व्यवस्था समेत मिलाइएको प्रमुख अधिकारी यादवले जानकारी दिए । जिल्लामा यसअघि मिटरब्याजी पीडितहरुको करिब ६ सय ८० वटा निवेदन परेको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार यसअघि निवेदन दिएकाले समेत अहिले माथिबाटै आएको फरम्याट अनुसार पाँच पृष्ट भएको निवेदन दिनुपर्ने छ ।
अन्य जिल्लाको तुलनामा सर्लाहीमा मिटरब्याज पीडित धेरै नै रहेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । पीडितले यसअघि दिएको उजुरीका आधारमा यहाँका खुङखार मिटरब्याज साहु श्याम कृष्ण साह(परदेशी) र सञ्जय रौनियार पूर्पक्षका लागि कारागारमै रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।