दुर्गा कुमारी अधिकारी
सर्लाहीको लालबन्दी नरपालिकामा व्यवसाय दर्ता तथा नविकरण गर्नेहरुको संख्यामा सुधार नभएको पाइएको छ । जुनसुकै व्यवसाय विना दर्ता तथा नविकरण नगरी संचालन गर्न नगरपालिकाले कडाई गरेको भएपनि नगरभित्रका व्यापार,व्यावसाय गर्नेहरु दर्ता तथा नविकरण गर्ने काममा सुस्त देखिएका लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले जानकारी दिए ।
उनका अनुसार नगरपालिकामा व्यवसाय दर्ता तथा नविकरण गर्दा दिगो आयस्रोत हुने र यसले राष्ट्रिय राजश्वमा समेत महत्वपूर्ण भूमिका खेल्ने भएपनि लालबन्दी नगरपालिकाभित्रका व्यापार,व्यावसाय गर्नेहरु दर्ता तथा नविकरण गर्ने काममा सुस्त देखिएका हुन ।
आर्थिक वर्ष २०७३÷०७४ देखि हाल सम्म दुई हजार दुई वटा व्यवसाय दर्ता तथा नविकरण भएकोमा चालु आर्थिक वर्ष २०७९÷०८० को बैशाख १८ गते सम्म एक सय दुई वटा व्यापार,व्यावसाय दर्ता तथा नविकरण भएका नगरपालिकाको तथ्यांकले देखाएको छ । व्यवसाय दर्ता तथा नविकरणलाई प्रभावकारी बनाउन अहिले नगरपालिकाले काम गरि रहेको भएपनि व्यापारीहरु आफ्नो व्यवसाय दर्ता तथा नविकरण गर्ने तर्फ सुस्त देखिएका नगरपालिकाले जनाएको छ ।
व्यवसाय दर्ताको संख्या बढाउने,करको दायरामा ल्याउने र राजश्व संलकनमा समेत बृद्धि गर्ने योजना नगरपालिकाले बनाएको तर घरेलु तथा साना उद्योग कार्यालय र उद्योग बाणिज्य संघको झण्झटीलो प्रक्रियाका कारण आफुहरुले आफ्नो व्यापार,व्यावसाय दर्ता तथा नविकरण विनै सञ्चालन गरि रहेको एक व्यापारीले बताए ।
व्यावसाय दर्ता तथा नविकरणलाई नगरपालिकाले आन्तरीक आयस्रोतको रुपमा प्राथमिकतामा राखेको नगरपालिकाको राजश्व शाखाका प्रमुख भोला प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको बैशाख १८ गते सम्ममा रु १७ लाख तीन हजार २० राजश्व संकलन भएको छ ।