काठमाडौँ, ५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले मिडियामा पटक पटक सभापतिलाई जोडेर आउने सहकारीका प्रसंगहरूको निदान हुनै पर्छ भन्दै संसदीय छानबिन समिति सभापति रवि लामिछानेले नै उठाएको विषय भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै केन्द्रीय सदस्य कार्कीले यस अघि सभापतिले संसदीय छानबिनको कुरा उठाएको र अहिले संसदीय छानविनको असल कुरालाई अर्को दलले उठाउँदा त्यो हाम्रो विरूद्धमा जस्तो भएको उल्लेख गरेका छन् ।
उनले समर्थकहरू नै अब सत्यको उज्यालोबाट तानिएर भ्रमको अँध्यारोमा पुग्न लाग्दैछन् भन्दै शिर ठाडो बनाएर गौरवले घण्टी बजाउने साथीहरू प्रश्न आउला र निरूत्तर भइएला भनेर खुल्न संकोच मान्ने अवस्था बनेको बताएका छन् ।
'सहकारीको साना-साना चिर्कटो देखाएर तर्साउन सकिने मान्छेलाई हामीले सभापति बनाएका छैनौँ,' उनले लेखेका छन्, 'प्रश्नबाट भाग्ने र प्रश्नलाई नै बन्द गर्ने कायर र निरंकुश हाम्रो नेतृत्व होइन । संसदीय छानविन भन्छन् कि उच्चस्तरिय अनुसन्धान आयोग बनाउने भन्छन् कि बैंक खाता हेर्छौँ भन्छन् कि के बनाउँ भन्छन्, बनाइदिउँ, देखाइदिउँ । जस्तो कसिमा जाँचिनु पर्ने हो, जाँचिन तयार हौँ । तर यो कुरा सकिदिउँ ।'
संसदीय छानबिन समितिको विषय विगतमा आफूहरुले नै उठाउँदै आएको कार्कीको भनाइ छ । संसदीय छानबिनको असल कुरालाई अर्को दलले उठाउँदा त्यो आफूहरुकोविरूद्धमा जस्तो भएको भन्दै त्यो भ्रामक भएको बताएका छन् ।
'संसदीय छानविनको असल कुरालाई अर्को दलले उठाउँदा त्यो हाम्रो विरूद्धमा जस्तो भएको छ,' कार्कीले लेखेका छन्,'तर अन्तर्यमा हेर्ने हो भने त्यो मुद्दा त खासमा हाम्रो मुद्दा हो । हाम्रै सभापतिले गरिमामय संसदमा उठाउनु भएको बिषय हो । त्यो कसरी हाम्रा विरूद्धमा हो भन्ने मान्नु ? संसदीय समिति हाम्रोविरूद्धमा हो भन्ने कुरा भ्रामक कुरा हो । कसैलाई हाम्रो विरुद्धमा हो भन्ने लाग्छ भने सभापति कै केही अगाडिको कुरासँग त्यो बाझिन्छ ।'
