भाद्र १, काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको विवाद अन्त्य भएको बताएका छन् ।
राजधानीमा आज आयोजीत काठमाण्डौं-रूकुम पश्चिम सम्पर्क जिल्लाको दोस्रो जिल्ला सम्मेलनलाइ संबोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
प्रचण्डले भने पदाधिकारी र स्थायी समिति बैठकसम्म आउदा धेरै बिषयहरू हल भएका छन् । नमिलेका र पार्टीले अपनत्व लिनुपर्ने कैंयन बिषयहरू दस्ताबेजमा समाबेश गरेर जानेछौं । कतिपय आशंकाहरू विस्तारै असत्य हुंदै जानेछन् । माओवादी एकढिक्का भएर अब पार्टी निर्माण गर्ने अभियानमा केन्द्रीत हुनेछ प्रचण्डले बताए ।
उनले भने, ‘कमरेड प्रभाकरले केही कुरा राख्नुभयो । कमरेड प्रभाकरसँग मेरो भेट भएदेखि नै अटुट रुपमा सँगै काम गर्दै आइरहेका छन्, तर उहाँले भनेको जस्तो उहाँको स्वभाव र मेरो के हो भन्ने कुरा त सिंगो देशले बुझेको कुरा छ । त्यो स्वभावको कारणले हामी बेलाबेलामा अगुल्टो ठोसिए झैं ठोसिने चाहिँ गरेकै छौं ।
अहिलेमात्रै होइन, जनयुद्ध कालमा पनि, पछि पनि र अहिले पनि, तर यो अगुल्टो ठोसिए जस्तो ठोसिनु आगो बाल्न, खाना पठाउन र राम्रोको लागि हुँदै आएको छ । म विश्वास गर्छु यो पटक अझ राम्रो हुनेछ ।’
प्रचण्डले थपे, ‘केही गम्भीर आशंकाका कुराहरु छन् अझै पनि । त्यस्तो कुरामा मैले र प्रभाकरले अध्ययन अनुसन्धान गर्ने, यस्तो आशंकाको स्थिति कसरी बन्यो भन्नेबारेमा सँगै बसेर अनुसन्धान गर्ने, नभए केन्द्रबाट टीम बनाएर पनि अध्ययन गर्ने, अहिले भ्रमको कुराहरु चिरिएका छन् । त्यसैले कमरेड प्रभावकरले पनि ममाथि अत्याचारका अत्याचार भनिराख्न जरुरी छैन । तपाईंले बहस गरेर राम्रो भयो ।
तपाईंले भनेको कुरा मूल नेतृत्वले नकारात्मक ढंगले लिएको भए बैठकले तपाईंले उठाएको विषय पार्टीले स्वीकार्दैनथ्यो । यो कुरालाई तपाईंले गहिरोसँग आत्मसात गर्नुपर्छ ।’