फागुन २८,काठमाडौँ। प्रतिनिधि सभाको बैठक सुरु भएको ४ मिनेटमै स्थगित भएको छ । सरकारको कुनै पनि प्रतिनिधि उपस्थित नभएको भन्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बैठक सुरु हुनेवित्तिकै विरोध जनाएका थिए ।प्रमुख सचेतक पाण्डेले प्रतिनिधि सभा नियमावलीमा व्यवस्था भएअनुसार बैठक तुरुन्त बन्द गर्न माग गरे ।
‘सरकार सदनलाई हेपिरहेको छ । हामी जनप्रतिनिधिहरुलाई हेपिरहेको छ । हरेक कुरामा हाम्रा अभ्यासहरु सरकार मानिरहेको छैन । अहिले सदन चलिरहेको छ, सरकारको प्रतिनिधि कोही पनि छैनन् ।प्रतिपक्षी दल उपस्थित हुन्छ । तर,सत्तापक्षी दल उपस्थित हुँदैन । यसैले यो बैठक चल्दैन । सरकार नभइ हाम्रो नियमावलीको व्यवस्थाअनुसार, अभ्यासअनुसार तुरुन्त बन्द गरियोस्,’– उनले भने ।
प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पाण्डेको मागअनुसार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिर्वाय हुनुपर्ने भएकाले १५ मिनेटको लागि बैठक स्थगित गरिएको घोषणा गरे ।