नागरिक उड्डयन प्राधिकरण (क्यान) टुक्र्याउने दुई वटा विधेयक छिटो अघि बढाउनुपर्नेमा समितिको जोड

2.6k Shares

काठमाडौँ ।  प्रतिनिधि सभा अन्तरगतको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति’का सदस्यहरूले सरकारले ल्याएको नागरिक उड्डयन प्राधिकरण (क्यान) टुक्र्याउने दुई वटा विधेयक छिटो अघि बढाउनुपर्नेमा जोड दिएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसदहरुले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक, २०८१’ लाई तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समेत क्यान टुक्र्याउने विधेयकलाई छिटो टुंग्याइनुपर्नेमा जोड दिए । 

बैठकमा सांसद भीम प्रसाद आचार्यले विधेयक तत्काल अगाडि बढाउनुपर्ने बताए । ‘यसलाई छलफल गरेर छिटो पारित गरौँ । यदि सकिएन भने अध्यादेशबाट पनि ल्याउनुपर्छ । तर यो कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन,’ उनले भने ।

उनले ऐन छिटो ल्याउनुपर्ने आवश्यकता भएकोले तत्काल अगाडि बढाउन सरकारलाई समेत आग्रह गरे । यस्तै सांसद एकनाथ ढकालले विभाजन गर्ने भइसकेपछि कार्यतालिका बनाएरै छिटो अगाडि बढाउनुपर्ने मत राखे । ‘अब छुट्याउने नै भइसकेपछि किन विलम्ब गर्ने हो र? कार्यतालिका बनाऔँ । अगाडि बढाऔँ’, उनले भने । 

पूर्वपर्यटनमन्त्री रहेका माओवादी सांसद सुदन किराँतीले यो विधेयक वर्षे अधिवेशनबाटै पास गर्नुपर्ने बताए । ‘हवाई सेवा भनेको प्लेन उड्ने कुरा मात्रै होइन, देशको कूटनीतिक छविको विषय पनि हो । अन्तर्राष्ट्रिय क्यालेन्डर बनाएर हवाई सेवालाई व्यवस्थित गर्नुपर्छ,’ उनले भने, ‘अहिले निगमलाई विभिन्न कारणले रोकिराखेको छ । अब विधेयकबाट सबै कुराको हल हुनुपर्छ ।’

यस्तै आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले देशको आवश्यकता अनुसार कानुन बनाउनुपर्ने बताए । उनले अन्य एयरलाइन्स र नेपाल एयरलाइन्समा कर्मचारी तुलना गर्दै धेरै कर्मचारीले कसरी थोरै काम गरिरहेको भन्दै पर्यटनमन्त्री बद्री पाण्डेलाई प्रश्न गरे ।

रास्वपाका सांसद शिशिर खनालले हवाई सेवा प्रदायक र नियामक एकै हुँदा दुवै काम राम्रो हुन नसकेको तर्क गरे । ‘अहिले क्यानले भैरहवा र पोखरा विमानस्थल चलेन भनेर चिन्ता लिनुपरेको छ । त्यही संस्थाले फेरि हवाई सुरक्षाको पनि चिन्ता गर्नुपर्ने प्रावधान छ । यसले अहिले राम्रो भएको छैन,’ खनालले भने ।

‘यात्रुको हवाई सुरक्षा हेर्नेले नियमनको मात्रै काम गरोस्, अनि विमानस्थल हेर्नेले सञ्चालन र विस्तारको मात्रै काम गरोस् अनि अहिलेको भन्दा सुधार हुन्छ,’ उनले थपे । खनालले विधेयक सकेसम्म राम्रो बनाएर पारित गर्नुपर्ने भन्दै तर्क गरे । 

 

सम्बन्धित समाचार