नेपाल-रुस कूटनीतिक सम्बन्धमा कांग्रेस दृढ छः मुख्यमन्त्री शाह

6.1k Shares

नेपाल-रुस सम्बन्ध स्थापनाको ७० औं वर्ष प्रवेश गर्दैछ । जुलाई २० मा दुई देशको दाैत्य सम्बन्ध स्थापना भएको ७० औं वर्षमा प्रवेश गर्दै गर्दा यसका विभिन्न आयामबारको बहस पनि चलिरहेको छ । के नेपाल-रुस सम्बन्ध सोभियत कालको जस्तो बन्न सक्दैन ? रुसले नेपाललाई गरिरहेको सहयोग, नेपालको अपेक्षा र कूटनीतिक सम्बन्ध विस्तारमा नयाँ आयाम थप्न सकिन्न ? यी र यस्तै विषयमा नेपाली कांग्रेसका नेता एवम् सुदूरपश्विम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसँग हाम्रा प्रतिनिधिले गरेको कुराकानीको सम्पादीत अंश ।।

१. नेपाल–रुस बीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्ष प्रवेश गर्दैछ । तत्कालीन सोभियत संघदेखि आजसम्म आइपुग्दा दुई देशको सम्बन्ध, सहयोग र कूटनीतिक मामलालाई कसरी   लिनुहुन्छ ?

- दुई मुलुकबीचको कूटनीतिक सम्बाद ७० बर्ष प्रवेश गर्नु आफैमा सुखद् अनि ऐतिहासिक कुरा हो । नेपाल-रुस सम्बन्ध नविनतम र आधुनिक युगअनुसार अघि बढोस्, मेरो शुभकामना पनि छ । सुरुवातदेखि हालसम्म दुवै देशको सम्बन्ध सुमधुर रहेको तर, पछिलो समय केहि उतारचढावहरु देखिएका छन् । यस्ता विषयलाई दुई देशले कूटनीतिक माध्यमबाट समाधानको बाटो निकाल्ने र विश्व शान्तिको कामना गर्दै नयाँ शुरुवात गर्नुपर्ने आवश्यकता छ । विगत‌मा रुसबाट नेपालको आर्थिक, सामाजिक र मानवीय विकासमा उल्लेख्य सहयोग रहेको र अबपनि यस्ता सहयोगको स्वभाविक अपेक्षा त हुने नै भयो ।

२. कुनैबेला रुस नेपालका लागि ठूलो सहयोगी थियो । शिक्षादेखि पूर्वाधार निर्माणसम्म रुसको योगदान स्मरणीय नै छ । तर, अहिलेको रुससँग नेपालको सम्बन्धमा केहि शिथिलता आएको जस्तो देखिन्छ । यस्तो किन भएको होला ?

- ठ्याक्कै दुई देशबीचको सम्बन्धमा शिथिलता नै आएको त भन्न अलिक नसुहाउला तर, परिवेशअनुसार अघि नबढेको भने पक्का हो । नेपालले प्राप्त गर्ने वैदेशिक सहायताको पछिल्लो प्रवृत्ति (Trend)हेर्दा नेपालले शिक्षा, मानव स्वास्थ्य, गरिवी निवारण लगायतका सामाजिक विकासका क्षेत्रमा सुधार गरेपछि वैदेशिक अनुदान घट्‌दै आएको देखिन्छ । यद्यपी, रुसबाट प्राप्त हुने सहयोग-अनुदान पनि यस्तै Trend देखिएको मात्र हुनसक्छ ।

३. नेपाली कांग्रेस रुसँगको कूटनीतिक सम्बन्धलाई कसरी लिन्छ र कांग्रेसले रुससँगको सम्बन्धलाई विस्तार गर्ने विषयमा कस्तो धारणा राख्छ ?

- नेपाल स‌रकारको परराष्ट्र नीति असंलगता र पञ्चशीलको सिद्धान्तमा आधारित छ । नेपाली कांग्रेसले पनि यसै सिद्धान्तलाई आत्मसाथ गरी वैदेशिक/परराष्ट्र सम्बन्धको धारणा बनाउँदछ । राष्ट्रिय हीत सुनिश्चित गर्दै द्विपक्षीय लाभ र सहकार्यका लागी नेपाली कांग्रेस रुस लगायत सबै मुलुकसँग परराष्ट्र सम्बन्ध विस्तार र कायम राख्नुपर्दछ भन्ने दृढ मान्यता राख्दछ । 

४. नेपाली युवाहरु रुसको पक्षबाट युद्धमा सरिक हुनेदेखि युक्रेनको कब्जामा पर्ने किसिमका विषय नेपालमा निकै चर्चा भयो । रसियन कूटनीतिक नियोगले रुस सरकारको यसमा कुनै किसिमको हात नरहेको भनिरहेको सुनिन्छ । यसमा नेपाली कांग्रेसको धारणा के हो ? 

- नेपाली युवाहरु रुस-युक्रेन युद्ध‌मा प्रयोग भएको विषयमा सरकारले रुसी पक्षसँग गम्भीरतापूर्वक कुरा राखेको र समाधानका लागि रुसी पक्षबाट पनि सकारात्मक पहल भएको जानकारी पाएको छु । यस समस्या समाधानका लागी नेपाल सरकारले युवाहरुको वैदेशिक रोजगारीका विषयहरूलाई कानूनी र कूटनीतिक पहलबाट सु‌धार गर्ने विश्वास पनि लिएको छु ।

५. रुस–नेपालको सम्बन्धलाई थप नयाँ उचाइमा लैजानका निम्ति नेपाली पक्षले लिनुपर्ने कूटनीतिक पहल कस्ता हुनुपर्ला ?  अहिले तपाईको पार्टीले नै परराष्ट्र मन्त्रालयको नेतृत्व गरिरहेका समय कूटनीतिक सम्बन्ध विस्तारमा कस्ता पहलहरु भइरहेका देख्नुहुन्छ ?

- रुस- नेपालबीच सम्बाधलाई थप सुट्टढीकरणका लागी नेपालको असंलग्न परराष्ट्र नीति र शान्तिप्रिय मुलुकको छवी समेतलाई ध्यानमा राखेर भू-राजनीतिक सन्तुलन कायम राख्न सक्नुपर्दछ । नेपालले रुससँग आर्थिक-सामाजिक विकास, अति गरिब मलुकबाट स्तरोन्नती हुने लक्ष्य, दीगो विकासका लक्ष्य हासिल गर्न आर्थिक विकास र अन्तराष्ट्रिय व्यापार सहजीकरणका क्षेत्रमा सहकार्य गर्ने, सौविध्य-प्राप्त बजार‌को लागी वार्ता गर्ने लगायतका कूटनीतिक पहलमा बढी केन्द्रित हुनुपर्दछ ।

६. अन्त्यमा, यहि जुलाई २० मा नेपाल–रुस सम्बन्धको कूटनीतिक सम्बन्ध औपचारिक रुपमा स्थापना भएको ७० औं वर्ष पुग्न लागेको छ, यस अवसरमा दुई देशको सम्बन्धका आयामलाई थप परिस्कृत बनाउन कति सम्भव छ ?

- दुवै देशले जलवायू परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने, हाम्रो मुलुक LDC graduation मा रुसको सहकार्य, राम्रो अर्थतन्त्रलाई उदीयमान अर्थतन्त्रको रुपमा विकास गर्न रुस‌को विकास‌का अनुभव र मोडलबाट सिकाई हासिल गर्ने, हाम्रो मुलुक पूर्वाधारमा सुरुङ, यूगको प्रारम्भ भएको र रुसको त्यस‌मा लामो अनुभव रहेको सन्दर्भमा सीप, प्रविधि र अनुभव हस्तान्तरण जस्ता थुप्रै अवसर छन् । यस्ता अवसरबाट नेपालले लाभ लिन सक्नेगरी रुससँगको कूटनीतिक सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनु पर्दछ ।

 

सम्बन्धित समाचार