काठमाडाैं । नेकपा माओवादी केन्द्रले २०६३ सालमा भएको गौर हत्याकाण्डबारे निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिनको माग गरेको छ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले यो घटना राजनीतिक प्रकृतिको देखिएपनि, घेराबन्दी गरेर सामूहिक हत्या गर्न नपाइने भन्दै माओवादीको धारणा सार्वजनिक गरेका छन्।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गौर घटनालाई ‘राजनीतिक’ भनेको विषयप्रति लक्षित गर्दै गुरुङले कानूनी दृष्टिकोणले यस्ता घटनालाई मान्य ठहर गर्न नसकिने बताए ।
“घटना राजनीतिक जस्तो देखिए पनि, त्यो घेराबन्दी गरेर हत्या गर्न मिल्ने भन्ने हुँदैन। मानव अधिकार आयोगको प्रतिवेदनले पनि अध्यक्ष यादवप्रति इङ्गित गरेको देखिन्छ।”, गुरुङले भनेका छन् ।
गुरुङले तत्कालीन मधेसी जनअधिकार फोरम (हालको जसपा) को नेतृत्व उपेन्द्र यादवले गरिरहेको र घटनासँग सिधै सम्बन्ध रहेको बताए। “हामी पहिलेदेखि नै निष्पक्ष र स्वतन्त्र छानबिनको माग गर्दै आएका हौं,” उनले भने, “दोषीलाई कानूनी दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो अडान हो।”
यस्तै, महासचिव गुरुङले सर्वोच्च अदालतले हालै दिएको छानबिन आदेशप्रति समय सन्दर्भको आधारमा आशंका उठाउने ठाउँ रहेको बताए। जसपा नेपाल सरकारबाट बाहिरिएपछि र भूमि विधेयकप्रति असन्तुष्टि जनाएपछि आएको अदालती आदेशलाई उनले राजनीतिक प्रतिशोधको आशंका संग जोडे।
गुरुङले निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिनमात्रै घटनाको साँचो तथ्य बाहिर ल्याउन सक्षम हुने विश्वास व्यक्त गरे।