काठमाडौं । एमसिए नेपाल र शर्मा कुमार जेभीको संयुक्त कम्पनीद्वारा सुरु गरिएको धानखोला लमही दुई लेन सडक परियोजनामा देउखुरीवासी र संघर्ष समितिले गम्भीर आपत्ति जनाएका छन्।
संघर्ष समितिका संयोजक प्रकाश शाहीले भनेका छन्, "हामी सरकारसँग हाम्रो मागमा ऐक्यबद्धता र सहभागीता जनाउँदछौं। यो केवल सडक परियोजना मात्र होइन, हाम्रो क्षेत्रको समग्र विकासको प्रश्न हो।"
संघीय सरकार र प्रदेश सरकारको संवेदनशीलतासँगै सम्झौतामा हस्ताक्षर नगरेकोमा संघर्ष समितिले आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ।
धानखोला लमही दुईलेन सडक परियोजना, लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको आर्थिक, सामाजिक र सुरक्षाका दृष्टिकोणले मात्र होइन, समग्र विकासको बाधक समेत रहेको समितिको भनाइ छ। त्यस कारण, संघर्ष समिति संघीय सरकारसँग पुनः अनुरोध गर्दै पूर्व झापा देखि कपिलवस्तु सम्म फैलाउँदै गरिएको एशियाली हाइवे विस्तारका लागि बजेट सुनिश्चित गर्न माग गरेको छ।
सडकको प्रस्तावित १२ मिटरको चौडाइ र ७ मिटरको दुईलेन सडक, लुम्बिनी प्रदेशको राजधानी र आसपासको क्षेत्रको वास्तविक आवश्यकतासँग मेल नखाने समितिको भनाइ छ। संघर्ष समितिले यसलाई एक प्रयोगशाला मात्र भएको दाबी गर्दै, देउखुरी क्षेत्रको ७ लाख जनसंख्या र पूर्वपश्चिम राजमार्गका साथ यो क्षेत्रको सवारी चाप र दुर्घटनाको उच्च जोखिमलाई ध्यानमा राखेर सडकको विस्तारलाई चार लेनमा बदल्नुपर्ने आवश्यकता रहेको बताएको छ।
