काठमाण्डौं । सकारले ट्रयाल पास भएको २४ घण्टाभित्र सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण गर्ने प्रणाली लागू गरेको छ । तर, अहिले प्रिन्ट भएर आएका लाइसेन्समा चिप छैन । सरकाले अहिले चिपको ठाउँमा क्यूआर कोड भएको लाइसेन्स विवरण गरेको छ ।
२४ घण्टाभित्रै लाइसेन्स वितरण गर्ने नाममा सरकारले चिपबिनाको लाइसेन्स वितरण गर्न थालेपछि त्यसको गुणस्तर र सरकारको नियतमाथि प्रश्न उठेको छ ।
आफ्नो चुनावी वाचा पूरा गर्न सरकारले बिनाचिपको गुणस्तरहीन लाइसेन्स बनाएको आरोप लागिरहेका बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले यसबारे प्रस्ट पारेका छन् ।
‘विगतमा प्रयोग गरिएको प्रणालीमा रहेको ‘स्मार्ट चिप’को पूर्ण उपयोगका लागि कार्ड रिडर र अनलाइन–अफलाइन प्रमाणीकरण प्रणालीजस्ता आवश्यक राष्ट्रिय पूर्वाधार व्यवस्थित हुन नसक्दा चिपको व्यावहारिक उपयोगिता न्यून रहनुका साथै विदेशी विज्ञको सहयोगमा निर्भर हुनु पर्दा सिर्जित जोखिम न्यूनिकरण गर्न हाल उच्च सुरक्षासहितको कोड इन्क्रिप्टेड, लेयर्ड र कपी–प्रोटेक्टेड बौद्धिक क्यूआर प्रविधि अवलम्बन गरिएको छ’, मन्त्री तिमिल्सिनाले विज्ञप्तिमा भनेका छन् ।
क्यूआरसहितको लाइसेन्सले अफलाइन प्रमाणीकरणलाई संस्थागत गरी ट्राफिक प्रहरी वा अन्य नियामक निकायहरूले कुनै पनि स्थानमा इन्टरनेटको पहुँचबिना नै कार्ड स्क्यान गरी सवारीचालकको पहिचान र आधिकारिकता तत्कालै पुष्टि गर्न सक्षम हुने मन्त्री तिमिल्सिनाको दाबी छ ।
उनका अनुसार नयाँ लाइसेन्समा ३९ वटा भिन्न–भिन्न सुरक्षण विशेषताहरू समावेश गरिएका छन् । यसको पहिलो तहमा साधारण आँखाले देख्न सकिने मेटालिक सिल्भर इंक, मेसिनले पढ्न सक्ने जोन र फोटोसँग जोडिएका विशेष सुरक्षण ढाँचाहरू छन्, दोस्रो तहमा विशेष उपकरणको सहायताले मात्र देखिने अदृश्य यूभी मसी र इन्फ्रारेड–एब्जोर्प्सनजस्ता सुरक्षा प्रणाली राखिएका छन् ।
त्यस्तै, तेस्रो वा फोरेन्सिक तहमा भने प्रयोगशालामा मात्र परीक्षण गर्न सकिने उच्चतम सुरक्षा राखिएको ‘डिजिटल फिङ्गर प्रिन्ट’ र प्रोप्राइटरी रसायनिक हस्ताक्षरसमेत समावेश गरिएको छ । ‘एक कार्ड अर्को कार्डसँग पूर्णतः भिन्न हुने यी सवारी चालक अनुमतीपत्रहरू अहिलेसम्म जारी भएको सबैभन्दा सुरक्षित र अत्याधुनिक सवारीचालक अनुमतिपत्र भएको समेत जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।