जनकपुरधाम । जनमत पार्टी भित्रको विवादले मधेश प्रदेश सरकार पुनः संकटमा परेको छ। पार्टीका ९ प्रदेश सांसदले सोमबार साँझ सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।
समर्थन फिर्ता लिएको पत्र प्रमुख सचेतक चन्दन सिंह ले प्रदेश प्रमुखसमक्ष पठाएका थिए। तर, संसदीय दलका नेता तथा अर्थमन्त्री महेश प्रसाद यादव ले मंगलबार बिहानै सरकारलाई समर्थन कायमै रहेको भन्दै छुट्टै पत्र बुझाएका छन् ।
उनले आफ्नो जानकारीबिना बसेको बैठकको निर्णय आधिकारिक नभएको उल्लेख गर्दै कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई जनमतको समर्थन यथावत रहेको दाबी गरेका छन् । यसैबीच, समाज कल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहा पनि पदमै कायम छन्। अन्य सांसदहरूले भने सरकारबाट अलग हुने निर्णय गरेका छन् ।
पार्टी अध्यक्ष चन्द्रकान्त राउत ले संसदीय दलको नेतृत्व परिवर्तन गर्दै चन्दन सिंहलाई नयाँ नेता तोकेको जनाइएको छ। यसले पार्टीभित्र विवाद झन् चर्किएको छ । १०७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ। जनमत पार्टी सँग १२ सांसद रहेकाले यसको निर्णयले सरकारको स्थायित्वमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।
राजनीतिक वृत्तमा नेकपा एमाले सहित नयाँ गठबन्धनको सम्भावना पनि चर्चा हुन थालेको छ। समर्थन फिर्ताको अवस्था औपचारिक भएमा सरकारलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।