समयमै वर्षा हुँदा मकै उत्पादन बढ्ने अपेक्षा

1.8k Shares

काठमाडौं । चैत–वैशाखजस्तो खडेरी हुने समयमा निरन्तर वर्षा भएपछि मकैखेती गरेका किसान उत्साहित भएका छन् । समयमै पानी परेकाले तराई तथा पहाडी क्षेत्रमा मकैबाली राम्रोसँग फस्टाएको कृषकहरूले बताएका छन् ।

उदयपुर लगायतका क्षेत्रमा किसानहरूका अनुसार मकै छर्ने र गोड्ने समयमै वर्षा हुँदा खेतीपाती सहज बनेको छ। रौतामाई गाउँपालिका–२ का किसान देवराज दाहालले यसपटक वर्षाका कारण मकै उत्पादन बढ्ने आशा व्यक्त गर्नुभयो ।

त्यस्तै, चौदण्डीगढी नगरपालिका–५ का किसान चन्द्रकान्त चौधरी र त्रियुगा नगरपालिका–१६ का तेजबहादुर बलम्पाकी मगरले पनि निरन्तर वर्षाले डाँडापाखाका बारीमा लगाइएको मकै राम्रोसँग बढिरहेको बताएका छन् ।

जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख योगेन्द्र यादव का अनुसार मकैखेती गर्ने समयदेखि नै वर्षा सुरु भएकाले पहाडी क्षेत्रका बारीमा लगाइएको मकैबालीमा सकारात्मक प्रभाव परेको छ ।

उदयपुर जिल्लामा प्रत्येक वर्ष करिब ११ हजार हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको छ। यसपटक पनि यस्तै मौसम कायम रहेमा मकै उत्पादनमा करिब २० प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार