अस्थायी डाइभर्सन बग्ने जोखिमपछि बिपी राजमार्गमा आवागमन रोकियो

1.2k Shares

काभ्रेपलाञ्चोक । बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्ग तीन दिनपछि बिहीबार बिहान केही समयका लागि सञ्चालनमा आए पनि पुनः बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमनराज अधिकारीका अनुसार अस्थायी डाइभर्सन निर्माण गरेर बिहानदेखि सवारी आवागमन खुलाइएको थियो। तर वर्षासँगै पानीको बहाव बढेपछि राजमार्ग फेरि बन्द गरिएको हो।

गत सोमबार परेको वर्षापछि रोशी खोलामा आएको बाढीले राजमार्ग अवरुद्ध भएको थियो। अहिले पनि वर्षा जारी रहेकाले प्रहरीले अत्यावश्यक बाहेक अन्य यात्रु तथा सवारीसाधनलाई उक्त मार्ग प्रयोग नगर्न आग्रह गरेको छ।

प्रहरीका अनुसार रोशी क्षेत्रको करिब चार किलोमिटर भागमा बनाइएको अस्थायी डाइभर्सन वर्षा हुनेबित्तिकै क्षतिग्रस्त हुने जोखिम रहेकाले समय–समयमा आवागमन रोक्ने गरिएको छ। राजमार्ग बन्द भएपछि सवारीसाधनलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकेर राखिएको छ।

गत वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएको थियो। त्यसपछि खोलामै अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन हुँदै आएको छ भने हाल स्थायी सडक निर्माणको काम जारी रहेको जनाइएको छ।

सम्बन्धित समाचार