काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को मुद्दा दायर गरेको छ । उक्त मुद्दामा केही पूर्वमन्त्रीहरू समेत जोडिएको बताइएको छ ।
अख्तियार स्रोतका अनुसार पूर्वमन्त्रीहरूलाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको हो। यसअघि पनि आयोगले पोखरा विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै ठूलो भ्रष्टाचार मुद्दा दायर गरिसकेको थियो ।
यसअघि दायर गरिएको मुद्दामा तत्कालीन पाँच मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, रामशरण महत र स्वर्गीय पोष्टबहादुर बोगटीलाई प्रतिवादी बनाइएको थियो । बोगटीको निधन भइसकेकाले उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको थियो । अख्तियारले उक्त प्रकरणमा ८ अर्ब ३६ करोड रुपैयाँ बिगो मागदाबी गरेको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजना चीनको ऋण सहयोगमा अघि बढाइएको थियो । निर्माण प्रक्रियामा ठेक्का, परामर्श सेवा तथा विभिन्न प्रशासनिक निर्णयहरूमा अनियमितता भएको आरोप अख्तियारले लगाउँदै आएको छ। यस प्रकरणलाई नेपालकै ठूलो सार्वजनिक खरिद भ्रष्टाचार प्रकरणमध्ये एक मानिएको छ ।
यसअघि पनि आयोगले विमानस्थल परियोजनासँग सम्बन्धित २१ जना व्यक्ति तथा दुई कम्पनीविरुद्ध ४६ करोडभन्दा बढी रकम हिनामिना भएको आरोपमा छुट्टै मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा पूर्वसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक तथा चिनियाँ कम्पनीका प्रतिनिधिहरू समेत प्रतिवादी बनाइएका छन् ।