उपसभामुख ठाकुरको भूमिकामाथि हर्क साम्पाङको आपत्ति

1.7k Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ले नयाँ प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा उपसभामुख रुबीकुमारी ठाकुर ले प्रधानमन्त्री बालेन्द्र शाह लाई साथ दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै राईले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने प्रक्रिया र प्रधानन्यायाधीश नियुक्तिको शैलीप्रति गम्भीर प्रश्न उठाएका हुन् । उनले संसद्लाई छल्दै राष्ट्रप्रमुखमाथि दबाब सिर्जना गरेर अध्यादेश ल्याइएको आरोप लगाएका छन् ।

राईले वरीयतामा चौथो स्थानमा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्नु सरकारको ठूलो गल्ती भएको दाबी गरेका छन् । विधि र प्रक्रियालाई बेवास्ता गर्दै राजनीतिक तथा कानुनी स्वार्थअनुसार निर्णय गरिएको आशंका पनि उनले व्यक्त गरेका छन् ।

उनले सहकारी ठगी प्रकरण तथा ‘जेन जेड’ आन्दोलनसँग सम्बन्धित मुद्दामा आफूअनुकूल फैसला गराउने उद्देश्यले यस्तो नियुक्ति प्रक्रिया अघि बढाइएको हुन सक्ने टिप्पणी गरेका छन् । साथै परिषद् बैठकमा एमसीसी र एसपीपीजस्ता विषय उठाएर दबाब सिर्जना गरिएको दाबी पनि राईले गरेका छन् ।

विज्ञप्तिमा आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख ठाकुरले समेत वरीयता मिचिएको निर्णयमा हस्ताक्षर गरेकोप्रति दुःख व्यक्त गर्दै श्रम संस्कृति पार्टीले विधि मिचेर गरिने राजनीतिक अभ्यासको सधैँ विरोध गर्ने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार