सात वर्षपछि चीन पुगे ट्रम्प, व्यापारदेखि कृत्रिम बुद्धिमत्तासम्म केन्द्रित वार्ता

2.7k Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सात वर्षपछि चीन भ्रमणमा पुगेका छन्। बेइजिङ पुगेका ट्रम्पसँगै ठूला अमेरिकी व्यवसायीहरूको जम्बो टोलीसमेत सहभागी भएको छ ।

भ्रमणका क्रममा व्यापार, कृत्रिम बुद्धिमत्ता, दुर्लभ खनिज, ताइवान र इरान युद्धलगायतका विषयमा चीन–अमेरिका बीच उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा चीनले अमेरिकी विमान निर्माता बोइङसँग ऐतिहासिक विमान खरिद सम्झौता गर्न सक्ने चर्चा पनि छ । समाचारअनुसार चीनले सयौँ बोइङ विमान खरिद गर्ने सम्भावना रहेको छ, जसलाई विश्वकै ठूलो विमान सम्झौतामध्ये एक मानिएको छ ।

Trump-visit-china.jpg

ट्रम्पसँगै इलोन मस्क, टिम कुक लगायत १७ जना अमेरिकी उद्योगपति चीन पुगेका छन् । दुवै देशबीच पछिल्लो समय व्यापारिक प्रतिस्पर्धा, चिप प्रविधि र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा तनाव बढिरहेका बेला यो भ्रमणलाई रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ ।

यसैबीच ट्रम्पले इरानसँग जारी तनावका विषयमा अमेरिकालाई चीनको सहयोग आवश्यक नरहेको बताएका छन् । उनले अमेरिकाले आफ्नो रणनीतिअनुसार अघि बढ्ने धारणा राखेका हुन् ।

चीनले ट्रम्पको सम्मानमा विशेष राजकीय भोज आयोजना गर्ने तयारी गरेको जनाइएको छ । कूटनीतिक वृत्तमा यसलाई अमेरिका–चीन सम्बन्ध सुधारको संकेतका रूपमा हेरिएको छ ।

सम्बन्धित समाचार