चीनबाट लुकाएर ल्याइँदै गरेको १ हजारभन्दा बढी भेप पक्राउ

2.9k Shares

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ गंजेखोलाबाट प्रहरीले करिब ५६ लाख ७० हजार रुपैयाँ बराबरका १ हजार ६२० थान भेपसहित सात जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी निरीक्षक जगतबहादुर राईको नेतृत्वमा खटिएको टोलीले जेठ १ गते राति चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार चीनबाट भोटेकोशी–३ बोक्चेन हुँदै अरनिको राजमार्गसँग जोडिने भित्री बाटो प्रयोग गरी लुकाएर ल्याइएको भेप बरामद गरिएको हो । भेपहरू ९ वटा बोराले छोपिएको कार्टुनभित्र लुकाएर ल्याइँदै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका–४ का ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकास विक, ४८ वर्षीय रामबहादुर विक, १७ वर्षीय विशाल रक्पाल, ३७ वर्षीय मंगलबहादुर थामी तथा बाह्रबिसे नगरपालिका–५ का ४२ वर्षीय कान्छा तामाङ रहेका छन् ।

उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोदारीमा राखिएको प्रहरीले जनाएको छ । नेपाल–चीन सीमाबाट पछिल्लो समय खाद्य तथा क्वारेन्टाइन अनुमति नलिएका सामग्री भित्र्याउन कडाइ गरिएपछि सीमावर्ती क्षेत्रमा हुने झोलेपोके व्यापारसमेत प्रभावित बनेको छ ।

तातोपानी भन्सार कार्यालयले यात्रु शाखामार्फत खाद्य तथा प्लान्ट क्वारेन्टाइन अनुमति नलिएका सामग्री ल्याउन रोक लगाएपछि स्थानीय स्तरको सानो व्यापार लगभग ठप्प भएको बताइएको छ । पहिले बिहानै चिनियाँ बजार झामु पुगेर बेलुका सामान बोकेर फर्किने स्थानीयको चहलपहल अहिले कम भएको छ ।

सम्बन्धित समाचार