काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरेर राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले सुर्खेत घर भई हाल काठमाडौंको शंखमुल बस्दै आएका २२ वर्षीय प्रकाश खड्कालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलेको भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएका थिए। उक्त फोन संवादको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो।
घटनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानुनी कारबाही अघि बढाउन निर्देशन दिएका थिए। कार्यालयले राष्ट्रसेवक कर्मचारीमाथि भय, त्रास र दबाब सिर्जना गर्ने गतिविधि निन्दनीय र अक्षम्य भएको जनाएको छ।
प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री, सचिवालय वा कार्यालयको नाम प्रयोग गरेर कसैले फोन वा भेटमार्फत अनुचित दबाब दिने प्रयास गरेमा भ्रममा नपर्न र त्यस्ता संवाद आधिकारिक माध्यमबाट प्रमाणीकरण गर्न आग्रह गरेको छ।