काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले पूर्वगृहमन्त्री सुधन गुरुङ लाई छानबिनका नाममा जोगाउन खोजिएको आशंका व्यक्त गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण अस्वाभाविक र शंकास्पद देखिएको भन्दै निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।
उनले संशयको घेरामा रहेका पूर्वगृहमन्त्रीलाई बचाउन आयोग नै सक्रिय रहेको भन्ने चर्चा जनस्तरमा व्यापक रूपमा भइरहेको बताए । साहले आयोगले कसैको दबाब वा प्रभावमा परेर चोख्याउने काम गर्न नहुने पनि उल्लेख गरे ।
सांसद साहका अनुसार प्रतिनिधिसभाले छानबिन आयोगका गतिविधिमाथि निगरानी राख्नुपर्ने आवश्यकता छ । उनले पूर्वगृहमन्त्रीको सम्पत्तिमाथि उच्चस्तरीय, पारदर्शी र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।