ट्राफिक कारबाहीबाट एक महिनामै ४४ लाख राजस्व उठ्यो

3.6k Shares

कास्की । गण्डकी प्रदेशको कास्की जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाहीबाट एक महिनामै ४४ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार गत वैशाख महिनामा पाँच हजार २६३ चालक कारबाहीमा परेका थिए। ती कारबाहीबाट ४४ लाख आठ हजार ५०० रुपैयाँ राजस्व उठेको प्रहरीले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई लक्षित गरेर नियमित जाँच र निगरानी बढाइएको छ। सो अवधिमा जिल्लाभर २२ वटा सवारी दुर्घटना भएकोमा पाँच जनाको मृत्यु तथा २६ जना घाइते भएका थिए ।

प्रहरीका अनुसार तीव्र गतिका कारण मात्रै १२ वटा दुर्घटना भएका छन् । चालक अनुमतिपत्रबिना सवारी चलाउने र मादक पदार्थ सेवन गरेर गाडी चलाउने प्रवृत्तिले पनि दुर्घटना बढाएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले संयुक्त रूपमा सवारी जाँच अभियान सञ्चालन गरिरहेको तथा दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमसमेत चलाइएको जनाइएको छ ।

 
 
 
सम्बन्धित समाचार