जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले नदीमा अवैध रूपमा गिट्टी, बालुवा तथा ढुङ्गा उत्खनन गर्नेमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । प्रशासनको आयोजनामा सोमबार भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तथा विपद् पूर्वतयारी सम्बन्धी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले तिला र हिमा नदी क्षेत्रमा अवैध रूपमा नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन भइरहेको बताए ।
उनले पटक–पटक निर्देशन दिँदा पनि बिनादर्ता र अनुमतिविना सञ्चालन भएका क्रसर उद्योग बन्द नभएकाले अब कडाइका साथ कारबाही गरिने स्पष्ट पारे । अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिइएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन गर्ने उद्योगहरूले अटेर गरे कानुनबमोजिम कारबाही गरिनेछ ।
नागरिक समाजका संयोजक राजबहादुर महतले जिल्लामा सञ्चालित केही विकास आयोजनाले काम सकिएपछि पनि क्रसर उद्योग सञ्चालन गरेर गिट्टी र बालुवा बिक्री गर्दै आएको बताए । जिल्ला समन्वय समितिका समन्वय अधिकारी रोमबहादुर महतले नदीबाट जथाभावी ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्दा भविष्यमा ठूलो विपद् निम्तिन सक्ने चेतावनी दिए ।
चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले स्थानीय तहले आन्तरिक राजस्व बढाउने नाममा भइरहेको अव्यवस्थित उत्खननलाई कानुनी दायरामा ल्याइने बताए । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले विपद्का बेला प्रभावकारी व्यवस्थापनका लागि समयमै प्रतिकार्य योजना निर्माण आवश्यक रहेको धारणा राखे ।
कार्यक्रमका सहभागीहरूले क्रसर उद्योग सञ्चालनको मापदण्ड कडाइका साथ लागू गर्दै उत्खनन कार्य व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार नदी किनार क्षेत्रमा रहेका अधिकांश क्रसर उद्योग अवैध रूपमा सञ्चालन भइरहेको भन्दै व्यापक गुनासो आउने गरेको छ ।