सञ्चारमाध्यम बलियो भए सरकार गलत बाटोमा जान सक्दैन : मन्त्री तिमिल्सिना

2.1k Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिना ले सरकार बलियो हुनका लागि स्वतन्त्र र जिम्मेवार सञ्चारमाध्यम बलियो हुनुपर्ने बताएका छन् ।

मन्त्री तिमिल्सिनाले सञ्चारमाध्यमले आफ्नो प्रभाव र जिम्मेवारी कायम राखे सरकार गलत बाटोमा जान नसक्ने उल्लेख गर्दै लोकतन्त्रमा प्रेसको भूमिका निर्णायक हुने बताएका हुन् । उनले तथ्य, विश्वसनीयता र जनउत्तरदायित्वमा आधारित पत्रकारिताले मात्रै सुशासन र पारदर्शितालाई मजबुत बनाउने धारणा राखे ।

उनले पछिल्लो समय सामाजिक सञ्जाल र केही माध्यमबाट भ्रामक तथा अपुष्ट सामग्री फैलिने क्रम बढेको भन्दै त्यसले अभिव्यक्ति स्वतन्त्रताको मर्मलाई कमजोर बनाउने बताए । सञ्चार क्षेत्रले आत्मनियमन र आचारसंहिताको पालना गर्दै जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको दोहोर्‍याउँदै सञ्चारमाध्यमलाई केवल सूचना प्रवाह गर्ने माध्यम नभई राजनीति, प्रशासन र समाजलाई जवाफदेही बनाउने महत्वपूर्ण संस्थाका रूपमा व्याख्या गरे ।

उनले गलत सूचना, चरित्रहत्या र अतिरञ्जित सामग्रीको प्रसारले समाजमा नकारात्मक असर पारिरहेको उल्लेख गर्दै पत्रकारिता तथ्यमा आधारित हुनुपर्नेमा जोड दिए । साथै, सरकारी विज्ञापन वितरण प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाइने पनि बताएका छन् ।

सम्बन्धित समाचार