फ्राइबर्गलाई हराउँदै एस्टन भिल्लाले जित्यो युरोपा लिग

3.4k Shares

इंग्लिस क्लब एस्टन भिल्ला एफसीले युरोपा लिग फुटबलको उपाधि जितेको छ । टर्कीको इस्तानबुलस्थित बेसिक्टास स्टेडियममा बुधबार राति भएको फाइनलमा जर्मन क्लब एससी फ्राइबर्गलाई ३–० ले हराउँदै भिल्ला च्याम्पियन बनेको हो ।

खेलमा भिल्लाका लागि युरी टिलेमान्स, एमिलियानो बुएन्डिया र मोर्गन रोजर्सले गोल गरे । पहिलो हाफमै दुई गोल गरेको भिल्लाले दोस्रो हाफमा थप एक गोल गर्दै सहज जित निकालेको थियो ।

Aston-Villa-.jpg

योसँगै एस्टन भिल्लाले ३० वर्षपछि ठूलो उपाधि जित्न सफल भएको छ । यसअघि उसले सन् १९९६ मा लिग कप जितेको थियो । युरोपियन प्रतियोगितामा भने भिल्लाको यो सन् १९८२ पछि पहिलो ठूलो सफलता हो ।

भिल्लाका प्रशिक्षक उनाइ एमरीका लागि यो पाँचौँ युरोपा लिग उपाधि हो । उनले यसअघि स्पेनिस क्लब सेभिया र भियारियलसँग पनि यो प्रतियोगिताको उपाधि जितिसकेका छन् ।

फाइनलमा पहिलोपटक पुगेको फ्राइबर्गले भने ऐतिहासिक उपाधि जित्ने अवसर गुमायो । जर्मन क्लबले खेलभर केही अवसर सिर्जना गरे पनि भिल्लाको बलियो प्रदर्शनका कारण पुनरागमन गर्न सकेन ।

सम्बन्धित समाचार